बाँके । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रतियोगिता आयोजना हुने भएको छ । शिखा एकेडेमी कोहलपुर र नेपालगन्ज स्वीमिङ क्लबको संयुक्त आयोजनामा दोस्रो शिखा अन्तरविद्यालय स्वीमिङ च्याम्पियनसीप २०८३ सञ्चालन गर्दै उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

आज कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा खेल संयोजक सूर्यमणि अधिकारीले देशभरका १८ विद्यालयका एक सयभन्दा बढी खेलाडीको सहभागिता सुनिश्चित भइसकेको जानकारी दिए । उनका अनुसार प्रतियोगिता राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक र उत्साहजनक हुने अपेक्षा गरिएको छ ।

प्रतियोगिताका प्राविधिक चन्द्रराम चौधरीका अनुसार प्रतियोगितामा ८, १०, १२, १४, १७ र सोभन्दा माथि उमेर समूहका छात्र तथा छात्राबीच २४ वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ । ८ र १० वर्षमुनिका खेलाडीले २५ मिटरमा तथा सोभन्दा माथिका उमेर समूहले ५० र १०० मिटर दूरीमा प्रतिस्पर्धा गर्नेछन् प्राविधिक चौधरीले बताए । साथै खेलाडीहरूले फ्रि स्टाइल, ब्याक स्ट्रोक, ब्रेस्ट स्ट्रोक र बटरफ्लाइ गरी चार विधामा भाग लिन सक्ने जानकारी पनि दिए ।

प्रेस विज्ञप्तिअनुसार काठमाडौं, ललितपुर, रुपन्देही, दाङ, बाँके, बर्दिया र सुर्खेतलगायत जिल्लाका विद्यालयहरूको सहभागिता सुनिश्चित भइसकेको छ । शिखा एकेडेमीका प्रधानाध्यापक ई. राजीव सुवेदीले विद्यालयले विगत चार वर्षदेखि पौडी पोखरीमार्फत विद्यार्थीलाई नियमित प्रशिक्षण दिँदै आएको बताए ।

शिखा एकेडेमी कोहलपुरले गत वर्ष नेपालगन्ज स्वीमिङ क्लबसँगको सहकार्यमा पहिलो अन्तरविद्यालय पौडी प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको थियो । विद्यालयले निर्माण गरेको १२.५ र २५ मिटरको पौडी पोखरीमार्फत नियमित प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।

गत वर्ष सम्पन्न बाँके जिल्ला स्तरीय र लुम्बिनी प्रदेश स्तरीय प्रतियोगितामा प्रथम तथा राष्ट्रिय स्तरको प्रतियोगितामा तेस्रो स्थान हासिल गरेर विद्यालयले उल्लेखनीय सफलता प्राप्त गरेको थियो ।