चम्चा
(२०८२-९-०३)
मनोज दाहल
इनरुवा -५,सुनसरी
सिंहदरबारको भुईँतलामा, कुर्सीको छायाँमुनि एउटा यस्तो जीव बस्छ, जसलाई न त संविधानले परिभाषित गरेको छ, न त कुनै ऐन-कानुनले चिनाएको छ । सत्ता, शक्ति र पहुँचको हरेक मोडमा ऊ अनिवार्य रूपमा उपस्थित हुन्छ । उसको नाम हो-चम्चा । ऊ नेता होइन, न त जनप्रतिनिधि । नेताभन्दा अघि पुग्छ, निर्णयभन्दा पहिला बोल्छ, र परिणाम आउनुअघि नै विजेताको लाइनमा उभिन्छ । उसले भोट हाल्दैन, तर भोटले जन्माएको सत्तालाई कसरी चलाउने भन्ने उसलाई राम्रोसँग थाहा हुन्छ । सरकार बनाउने औपचारिक प्रक्रिया संसदमा देखिए पनि, सरकार कसरी चल्छ भन्ने अनौपचारिक पाठ भने चम्चाले नै पढाइरहेको हुन्छ ।
चम्चा वास्तवमा कुनै व्यक्ति मात्र होइन, यो चाकरी, स्वार्थ र अवसरवादको मिश्रण भएको एउटा प्रवृत्ति हो । मालिकको एउटा सामान्य मुस्कान उसलाई ऐतिहासिक उपलब्धि लाग्छ । मालिक आँखा झिम्क्याउँछ, चम्चाले त्यसलाई नीतिगत संकेत ठान्छ । मालिक झुक्किएर बोलेको वाक्य उसले राष्ट्रिय दृष्टिकोण बनाएर प्रचार गर्छ । उसले कहिल्यै प्रश्न गर्दैन, किनकि प्रश्न गर्नु भनेको आफ्नो अस्तित्वमाथि नै खतरा निम्त्याउनु हो । ऊ न डुब्छ, न गल्छ, न पग्लन्छ, किनभने ऊ इमानको धातुबाट बनेको छैन । ऊ चाकरीको फलाम हो-जति पिटे पनि झन् कडा, झन् चम्किलो बन्दै जाने बलियो फलाम !
नेताहरू फेरिन्छन्, सरकारहरू ढल्छन्, झण्डाहरू बदलिन्छन्, नाराहरू परिवर्तन हुन्छन्, तर चम्चा भने झन् मजबुत हुँदै जान्छ । ऊ संविधान पढ्दैन । मालिकको हरेक ट्विट, हरेक स्टाटस, हरेक संकेत कण्ठ गरेको हुन्छ । जनता सडकमा उत्रँदा ऊ असहज हुन्छ । जनता रोएको देख्दा ऊ संवेदना बढी अवसर खोज्छ । विपद् आउँदा क्यामराअघि आँसु देखाउँछ, अनि क्यामरा बन्द भएपछि कुन कोणबाट खिच्दा बढी प्रभाव पर्छ भनेर सल्लाह दिन्छ । देश डुब्दै गर्दा ऊ समाधान खोज्दैन, सञ्जालमा ट्रेन्ड खोज्छ । ऊ चुनावमा जनता हाँक्दैन, तर “जय हो मालिक” भन्ने नाराले सत्ताका ढोकाहरू खोल्छ र त्यही ढोकामुनि बसेर पालो कुर्छ – कुन दिन के पद, कुन दिन के सुविधा झर्छ भनेर ।
हामी लोकतन्त्रलाई भोटसँग मात्र जोडेर बुझ्न चाहन्छौँ, तर व्यवहारमा लोकतन्त्र चम्चाको सक्रियताबाट मापन हुन्छ । जनताले भोट हालेर प्रतिनिधि पठाउँछन्, तर प्रतिनिधिले कसको कुरा सुन्छ भन्ने प्रश्नमा चम्चागिरीवाला बीचमा उभिन्छ । जनताले प्रश्न उठाउँदा चम्चा त्यसलाई अराजकता भन्छ । उसको आलोचना हुँदा ऊ षड्यन्त्र देख्छ । अधिकारको कुरा आउँदा ऊ स्थिरताको भाषण दिन थाल्छ । संसदमा बोलेका भाषणभन्दा बढी प्रभावशाली हुन्छन् पार्टी कार्यालय, चिया पसल र बन्द कोठामा चम्चाले फुसफुसाएका वाक्यहरू । यहाँ जनादेशभन्दा बलियो हुन्छ मालिकादेश, र मालिकादेशले भन्दा छिटो काम गर्छ चम्चाको सञ्जालले ।
चम्चागिरी राजनीतिमा मात्रै सीमित छैन । ऊ शिक्षा क्षेत्रमा पनि छिरेको छ । साहित्यिक वृत्तमा बसेको छ । मिडिया हाउसका निर्णय कक्षमा सहजै हिँडिरहेको छ । प्रश्न नगर्ने प्राध्यापक, मेरिटभन्दा चिनजान हेरेर नियुक्ति गर्ने प्रशासक, पुरस्कार र सम्मानलाई पहुँचसँग साट्ने साहित्यकार, विज्ञापन नखोसियोस् भनेर सत्यलाई मिल्क्याउने पत्रकार ! यी सबै चम्चाका फरक–फरक रूप मात्र हुन् । यहाँ विचार बिक्दैन, निष्ठा बिक्दैन; यहाँ त नजिकपन बिक्छ ।” राम्रो मान्छे”को सट्टा “हाम्रो मान्छे” हुनु नै सबैभन्दा ठूलो योग्यता बनेको छ । गाउँमा चम्चे नेता आएपछि कुर्सी तान्छ । शहरमा चम्चा नेता आएपछि मोबाइल निकालेर सेल्फी तान्छ । बाटो नबने पनि, विद्यालयमा शिक्षक नपुगे पनि, स्वास्थ्यचौकीमा औषधि नभए पनि ऊ गर्वका साथ भन्छ-हाम्रो पहुँच माथिसम्म छ । विकास चम्चाका लागि सडक, अस्पताल वा रोजगारी होइन; विकास भनेको नेतासँगको दूरी घट्नु हो । समस्या समाधान होइन, फोटो खिचिनु नै उपलब्धि हो । जनताको पीडा उसको भाषणमा विषय बन्छ, तर व्यवहारमा कहिल्यै प्राथमिकता हुँदैन ।
आजको चम्चा अझै परिष्कृत छ । ऊ डिजिटल छ । उसले भाषणभन्दा बढी स्टाटस लेख्छ । तर्कभन्दा बढी ट्रोल प्रयोग गर्छ । लाइक र कमेन्टको संख्या नै ऊ जनमत ठान्छ । सत्य उसलाई भारी लाग्छ । एल्गोरिदम प्रिय हुन्छ । फरक मत देखियो भने ऊ संवाद खोज्दैन । लेबल खोज्छ-देशद्रोही, विरोधी, बिकेको । चम्चाका लागि विचार होइन, खासमा भाइरल हुनु नै अन्तिम लक्ष्य हो ।
तर सबैभन्दा खतरनाक कुरा के हो भने चम्चा बाहिर मात्र छैन । ऊ हाम्रो भित्र पनि कतै बाँचेको छ । हामी सुविधा पाएपछि चुप लाग्छौँ । हामी आफ्नो काम बनेपछि अन्याय नदेखेजस्तो गर्छौँ । हामी प्रश्न गर्न डराउँछौँ, किनकि प्रश्नले सम्बन्ध बिगार्छ । यही डर, यही स्वार्थ, यही मौनताले चम्चालाई दिनप्रतिदिन बलियो बनाउँदै लगेको छ ।
देश बदलियोस् वा नबदलियोस्, चम्चा बदलिँदैन भन्ने निराशा यत्तिकै आएको होइन । जबसम्म नागरिकले मालिक होइन, मूल्य खोज्दैन; जबसम्म पदभन्दा सिद्धान्त ठूलो हुँदैन; जबसम्म तालीभन्दा प्रश्न बलियो हुँदैन-तबसम्म सिंहदरबारको भुईँतलामा, कुर्सीको छायाँमुनि, एउटा चम्चा सधैँ टल्किरहन्छ ।
र अन्ततः, चम्चा कुनै पार्टीको समस्या होइन । कुनै नेताको मात्र दोष होइन । चम्चा हाम्रो सामूहिक कमजोरीको प्रतिबिम्ब हो । त्यसैले आज पनि व्यंग्यले भनिरहनुपर्छ………….. ।
जय चम्चा !
जय चम्चेपन !!
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.