मंग्सिर २६, काठमाण्डौ। मोटरसाइकल दुर्घटनामा परि हाँस्य कलाकार हिक्मत महराको निधन भएको छ।
मंगलबार राति कैलालीको गोदावरी नगरपालिका–४ गोदावरी स्थित भिमदत्त राजमार्गमा उनले चलाएको म २ प ९११७ नम्बरको मोटरसाइकल सडकमा रोकिराखेको ट्रकसँग ठोक्किएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
रोकी राखेको ट्रक चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।
कमेडी च्याम्पियन सिजन २ बाट चिनिएका ३० वर्षीय महरा शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर बनसाहका स्थानीयबासी हुन्। उनी हास्य रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ का उत्कृष्ट चारमा परेपछि दर्शक तथा श्रोता माझ चर्चामा आएका थिए। ‘कमेडी च्याम्पियन २’ मा हिक्मत महराले ६ हजार प्रतियोगीसँगै डिजिटल अडिसन दिएर १८० जनामा छनोट भएका थिए। त्यसपछि उनी बिभिन्न रनर अप हुँदै उत्कृट चारमा पुगेका थिए। उत्कृष्ट ४ बाट भने उनी भोटको आधारमा बाहिरिएका थिए। हिक्मतको दुर्घटनाको खबर बाहिरिए संगै विभन्न कलाकार तथा कमेडियन हरुले समेत दुख व्यक्त गरेका छन्। कमेडी च्याम्पियनका डाइरेक्टर तथा होस्ट समेत रहेका बिशाल भण्डारीले सामाजिक संजाल मार्फत उनको तस्बिर शेयर गर्दै असामाहिक निधन प्रति दुख व्यक्त गरेका छन्।
हिक्मतले कञ्चनपुरको सिद्धबैजनाथ माध्यमिक विद्यालय बन्साहाबाट प्लस टु र कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा बिएडसम्म अध्ययन गरेका थिए।गोदावरी पीङका सञ्चालन समेत रहेका उनी पछिल्लो समय कैलालीको गोदावरीमै अस्थायी रुपमा बसोबास गर्दै आएका थिए।