१ मंसिर, काठमाडौं। बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायालयले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ।
ढाकास्थित इन्टरनेशनल क्राइम्स ट्रिब्यूनलले गत वर्ष जुलाई–अगस्टमा भएको विद्रोहका क्रममा हसिनाले मानवीय अपराध गरेको आरोपमा उनलाई दोषी ठहर गरेको हो। भारतमा निर्वासनमा रहेकी हसिनाको अनुपस्थितिमै मुद्दा अघि बढाइएको थियो।
तत्कालीन गृहमन्त्री आसदुज्जामान खान कमाललाई पनि मृत्युदण्डको फैसला सुनाइएको छ। प्रहरी प्रमुख अल ममूनलाई भने सरकारी गवाह बनाइएका कारण ५ वर्ष कैदको सजाय दिइएको छ।
४५३ पृष्ठको फैसलाको प्रतिलिपि सार्वजनिक हुनुअघि न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले फैसला आठ भागमा पढिने जानकारी दिएका थिए। फैसलाको घोषणा बंगलादेश टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो।