नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज आइतबार छलफल हुने भएको छ।
भेटवार्ता अपराह्न ३ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमै तय भएको भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए।
‘आजै उहाँहरूबीच भेटवार्ता हुन्छ,’ राईले जानकारी गराए।
तर, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने ओली–भण्डारी भेटबारे औपचारिक जानकारी नभएको बताएका छन्।
पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा पुनः प्रवेश गरे पनि एमालेले उनको पार्टी सदस्यता हालसम्म नवीकरण गरेको छैन।
यसअघि पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले भण्डारीको सदस्यता नवीकरण प्रक्रिया अघि नबढेको प्रस्ट्याएका थिए।
केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा आजको भेटमा भण्डारीको सक्रियता र पार्टी भित्रको भूमिकाबारे ओली र भण्डारीबीच छलफल हुने बुझिएको छ।
यसैबीच, एमाले केन्द्रीय कमिटीको बैठक भोलि सोमबारका लागि तय भएको छ।
