भियतनामको प्रसिद्ध पर्यटकीय गन्तव्य हालोङ खाडीमा पर्यटक सवार डुङ्गा दुर्घटना हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । खराब मौसमका कारण डुङ्गा पल्टिएको स्थानीय प्रशासनले जनाएको छ ।
डुङ्गा दुर्घटनापछि केही यात्रु अझै बेपत्ता रहेका छन् भने उद्धारकर्मीहरूले ११ जनालाई जिउँदै उद्धार गर्न सफल भएका छन् । रिपोर्टअनुसार डुङ्गामा सवार अधिकांश पर्यटक भियतनामको राजधानी हनोईबाट आएका थिए ।
‘वन्डर सीजर्भो’ नामक उक्त डुङ्गामा ५३ जना सवार रहेको बताइएको छ । भीषण वर्षाले खोजी तथा उद्धार कार्यमा कठिनाइ भएको उद्धार टोलीले जनाएको छ ।
