साहित्यकार शोभाराम ओलीद्वारा लिखित उपन्यास ‘अटेलिस जोइ’ को लोकार्पण तथा विमोचन कार्यक्रम कतारमा सम्पन्न भएको छ ।
कतारको गोरखाली रेस्टुरेन्ट सभाहलमा आयोजित कार्यक्रममा नवोदित वाचनालय कतारका अध्यक्ष सन्दीप थपलिया ‘सानु’को अध्यक्षता र एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा ओलीको छैटौँ उपन्यास विमोचन गरिएको हो ।
आई एडसम्म अध्ययन गरेर श्रमको खोजीमा कतार पुगेका शोभाराम ओलीले यसअघि ‘अधुरो जीवन’, ‘परदेशमा व्यथित मन’, ‘परदेशी सपना’, ‘अथाह’ र ‘सुलभ’ जस्ता कृतिहरू प्रकाशित गरिसकेका छन् ।
कतार बसाइका क्रममा आफैंले देखेका प्रेमकथालाई कथामा ढालेर लेखिएको यस उपन्यासले विदेशमा प्रेममा परेका नेपालीहरूको जीवन अनुभव झल्काउने लेखक ओलीले बताए ।
विमोचन कार्यक्रममा सीताराम थापा र खेमराज सुवेदीले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै उपन्यासले श्रमिक नेपालीहरूको जीवनशैलीलाई उजागर गरेको धारणा व्यक्त गरे ।
थापाले भने, “कथा लेख्नका लागि टाढा जानुपर्दैन, आफ्ना वरिपरिका भोगाइ नै कथाको विषय बन्न सक्छ ।”
