यस वर्ष वैशाखदेखि असारसम्मका तीन महिनामा देशभर दुई हजार ६५ भन्दा बढी विपद् घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा ९३ जनाको मृत्यु भएको छ भने २२ जना अझै बेपत्ता छन् ।
प्राधिकरणका प्रवक्ता सुरेश सुनारका अनुसार यी घटनामा ४४५ जना घाइते भएका छन् भने चार हजार १३६ परिवार प्रभावित भएका छन् ।
विशेषगरी बाढीका एक सय ३७ घटनामा १३ जनाको मृत्यु र २२ जना बेपत्ता भएको छ । गत असार २४ गते रसुवा भोटेकोशीमा आएको बाढी हिमताल विस्फोटको कारण भएको थियो, जसले सबैभन्दा बढी मानवीय क्षति पुर्याएको थियो ।
पहिरोका १७५ घटनामा ६ जनाको मृत्यु भएको छ भने चट्याङका कारण २६, आगलागीबाट १४, जनावर आक्रमणबाट १२ र लेक लागेर ११ जनाको मृत्यु भएको छ । त्यस्तै हावाहुरी, सर्पदंश, भारी वर्षा लगायतका कारणले पनि जनधनको क्षति भएको छ ।
प्राधिकरणका अनुसार बाढीबाट १२४६ र आगलागीबाट १०४८ परिवार प्रभावित भएका छन् । अन्य विपद् घटनाबाट पनि सयौं परिवार प्रभावित भएका जानकारी गराइएको छ ।
