खानेपानी, सरसफाइ तथा सिँचाइमन्त्री प्रदीप यादवले आफूले जिम्मेवारी सम्हालेको एक वर्षमा खानेपानी क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको दाबी गरेका छन् ।
पछिल्लो असार ३१ गते मन्त्रालयको नेतृत्व सम्हालेका मन्त्री यादवले मेलम्ची आयोजनाअन्तर्गत रिबर्मा खोलाबाट पानी पथान्तरण गरी वर्षभर उपत्यकामा आपूर्ति गर्न सफल हुनु प्रमुख उपलब्धि भएको बताएका छन् ।
आर्थिक वर्ष २०८१/८२ मा करिब १२ अर्ब रुपैयाँ बराबरको स्रोत सहमति प्राप्त भएको र सो अवधिमा पूँजीगत खर्च ८६ प्रतिशत पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्री यादवको कार्यकालमा उर्लाबारी बृहत् सहलगानी आयोजना, बेलडाँगी खानेपानी आयोजना लगायत ८६ वटा खानेपानी आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको मन्त्रालयको भनाइ छ ।
उपत्यकाको चक्रपथ बाहिर मेलम्चीको पानी विस्तार गर्न ५ वटा प्याकेजमा सार्वजनिक खरिद प्रक्रिया सुरु गरिएको छ । सुन्दरीजलमा २५.५ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्रका लागि खरिद प्रक्रिया अघि बढाइएको छ । साथै, कीर्तिपुर र महाँकालचौरमा क्रमशः ६० लाख र ८० लाख लिटर क्षमताका पानी ट्याङ्की निर्माण सम्पन्न भएका छन् ।
देशभर खानेपानी उपभोक्ता संस्थामार्फत पानी शुद्धीकरणका लागि क्लोरिनेसन युनिट अनिवार्य रुपमा सञ्चालनमा ल्याइएको छ ।
मधेसमा खानेपानी समस्याको समाधानका लागि हालसम्म २५० भन्दा बढी स्थानमा डिप बोरिङ निर्माण सम्पन्न भइसकेको छ भने थप निर्माण कार्य जारी छ ।
नीतिगत सुधारतर्फ–
मन्त्री यादवको कार्यकालमा अस्थायी रूपमा सञ्चालनमा रहेका आयोजनाहरूलाई व्यवस्थित गर्दै १५ वटा स्थायी कार्यालय स्थापना गरिएको छ ।
खानेपानी तथा सरसफाइ नियमावली २०८१ लागू गरिएको छ भने सहलगानी आयोजना कार्यान्वयन निर्देशिका अद्यावधिक गरी जनसहभागिता शुल्क ३० प्रतिशतबाट घटाएर १५ प्रतिशत पुर्याइएको छ ।
त्यस्तै, खानेपानी, सरसफाइ तथा स्वच्छता योजना तर्जुमा कार्यविधि २०८१ पनि स्वीकृत गरिएको छ ।
