वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आफ्नो एक वर्षे कार्यकालका उपलब्धिहरू सार्वजनिक गरेका छन् ।
बुधबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री ठकुरीले ३१ असार २०८१ मा पदभार ग्रहण गरेयता मन्त्रालयले गरेका कामहरूको विवरण सार्वजनिक गर्दै, विगत एक वर्षमा देश र वन क्षेत्रको सन्तुलित विकासमा योगदान पुर्याएको दाबी गरे ।
उनका अनुसार, हरित अर्थतन्त्रको दिशा अवलम्बन गर्दै कानुनी तथा नीतिगत सुधार गरिएको छ । काठ उत्पादनमा वृद्धि गरी मुलुकलाई आत्मनिर्भर बनाउन योजना अघि बढाइएको उल्लेख गर्दै उनले वनभित्र रहेका सुकेका र कुहिएका काठको उपयोगमार्फत वन क्षेत्र सफा राख्नेतर्फ मन्त्रालय केन्द्रित रहेको जानकारी दिए ।
वन उद्यमशीलता र रोजगारीका क्षेत्रमा समेत उल्लेखनीय प्रगति भएको भन्दै उनले विगत एक वर्षमा ४१ हजार जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिएको दाबी गरे ।
वन तथा वातावरण मन्त्रालयको सेवा प्रवाहमा सुधार ल्याउन नीतिगत तथा प्रक्रियागत कामहरू अघि बढाइएको बताउँदै, जलवायु तथा वातावरण संरक्षणका क्षेत्रमा वैदेशिक सहकार्य र अनुदानका सम्झौताहरू भएका जानकारी उनले दिए ।
मन्त्री ठकुरीले यार्सागुम्बा निकासीका लागि निर्देशिका तयार गरी कार्यान्वयनमा ल्याइएको र हिमाली क्षेत्रका बासिन्दाको जीविकोपार्जनमा यसले सहयोग पुगेको बताए ।
त्यस्तै, कार्बन व्यापारका क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरिएको भन्दै उनले परियोजना विकास र वित्तीय सहकार्यका लागि विशेष पहल भइरहेको जानकारी गराए ।
आफ्नो कार्यकाल औसत रूपमा सफल भएको निष्कर्ष निकाल्दै मन्त्री ठकुरीले मन्त्रालयको काम अझ प्रभावकारी बनाउन प्रतिबद्ध रहेको बताए ।
