लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौँमा लागूऔषध एम्फेटामाइनसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये नुवाकोट निवासी ३८ वर्षीय कमल बहादुर तामाङ, ३२ वर्षीय दीपेन्द्र तामाङ, २७ वर्षीय उमेश भोलोन र बाराका २९ वर्षीय उग्रेन लामा रहेका छन् ।
ब्यूरोका एसपी जनक बहादुर शाहीका अनुसार उनीहरूको साथबाट १५५ ग्राम एम्फेटामाइन बरामद गरिएको छ । जेठ ३० गते ठमेलबाट तीन जना पक्राउ परेका थिए भने उग्रेन लामालाई नारायणस्थानस्थित एक रिसोर्टबाट नियन्त्रणमा लिइएको हो ।
प्रहरी अनुसन्धानमा आरोपीहरूले उक्त लागूऔषध भारतको नयाँ दिल्लीबाट ल्याएको स्वीकार गरेको ब्यूरोले जनाएको छ ।
