राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र पछिल्लो समय आन्तरिक विवाद सतहमा आएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले मनोनीत गरेका केही पदाधिकारीहरू आफ्नै विरोधमा उभिएको ठहर गर्दै उनीहरूलाई स्पष्टीकरण सोध्ने र पदमुक्त गर्ने तयारी थालेका छन् ।
लिङ्देन पक्षका अनुसार, पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी नेतृत्वमा भेला हुँदै आएको समूहले पार्टीमा गुटबन्दीको वातावरण बनाएको र अध्यक्षको भूमिकामाथि खुलेरै प्रश्न उठाउन थालेको छ । यसैबीच, महामन्त्री धवल शम्शेर राणा, उपाध्यक्ष कुन्ति शाही, केन्द्रीय सदस्य जनकराज पाठक र केही नेताहरूविरुद्ध पनि आन्तरिक छलफल चलिरहेको स्रोतले जनाएको छ ।
लिङ्देन पक्षले पार्टीभित्रको समन्वयका लागि जिम्मेवारी दिएका व्यक्तिहरू नै गुट बनाएर विरोधमा लाग्नु अनुचित भएको बताएको छ । पार्टी निर्णय प्रक्रियालाई बेवास्ता गर्दै निर्वाचन आयोगमा उजुरी दिने र आन्तरिक छलफल नगर्ने प्रवृत्तिविरुद्ध कठोर बन्नुपर्नेमा अध्यक्ष लिङ्देनले जोड दिएका छन् ।
यसै क्रममा, अनुशासन समिति अध्यक्षमा उपाध्यक्ष रोशन कार्कीलाई मनोनीत गर्दा उत्पन्न विवादले समेत राप्रपाभित्र मतभेद चुलिएको छ । यसअघि पार्टी परित्याग गरेका नवराज सुवेदी र प्रवक्ता सगुनसुन्दर लावतीलाई अध्यक्ष लिङ्देनले पदमुक्त गरेपछि विवाद झन् तातेको हो ।
लिङ्देन पक्षले सुवेदीले पार्टी छाडिसकेको अवस्थामा पुनः सक्रिय हुन चाहने हो भने नयाँ सदस्यता लिनुपर्ने बताउँदै आएको छ ।
यता, महामन्त्री धवल शम्शेर राणाले भने पार्टीमा पर्याप्त संवाद नहुँदा निर्वाचन आयोग जानु परेको बताएका छन् । आफूहरूको धारणा पार्टीमा पटक-पटक राख्दा बेवास्ता भएकाले अन्ततः आयोगको ढोका ढकढक्याउनु परेको उनको भनाइ छ ।
महामन्त्री राणाले पार्टी भित्रै छलफलको प्रयास विफल भएपछि आफन्तहरूबीच समन्वय गर्नुपर्ने बाध्यता आएको दाबी गरे । उनले अध्यक्षले सामूहिक निर्णय प्रक्रियालाई बेवास्ता गरेको आरोप लगाए ।
राप्रपाको आगामी महाधिवेशन नजिकिँदै गर्दा तीव्र बन्दै गएको गुटबन्दी र अन्तरविरोधले पार्टीभित्र नेतृत्व संघर्ष थप चर्किने संकेत देखिएको छ ।
अध्यक्ष लिङ्देनले जनजागरण कार्यक्रममा बोल्दै गुट बनाएर आफूविरुद्ध घेराबन्दी गर्ने प्रवृत्तिविरुद्ध कडा चेतावनी दिएका छन् । उनले महाधिवेशनबाट म्यान्डेट पाएको अध्यक्षलाई काम गर्न नदिई अल्झाउन खोज्नु अनुचित भएको बताएका छन् ।
पार्टी नेतृत्वका अनुसार, महाधिवेशनसम्म आफूलाई साथ दिन सबैले सहयोग गर्नुपर्ने र असन्तुष्ट भए महाधिवेशनमै चुनौती दिनुपर्ने बताएका छन् ।
राप्रपाभित्रको यो विवादले आगामी महाधिवेशनअघि नेतृत्व संघर्ष झनै चर्किने आँकलन गरिएको छ ।
