प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमाको नाममा दुरुपयोग भएको भन्दै सो कार्यक्रमको औचित्य पुष्टि हुने गरी पुनरावलोकन गरिने बताएका छन्।
त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको वार्षिकोत्सवका अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले निरोगी नेपाल अभियान सफल पार्न र बिरामीलाई सही उपचार गराउन अस्पताललाई अझ प्रभावकारी भूमिका खेल्न आग्रह गरे।
अस्पतालले जनताको सेवा, दक्ष जनशक्ति उत्पादन, स्वास्थ्य उपचार र सेवा क्षेत्रमा उत्कृष्टता हासिल गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए।
दोस्रो पटक मिर्गौला प्रत्यारोपण यही अस्पतालमा गराएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले नेपालमै उपचार हुने विश्वास जनाए। “बिरामीले चिकित्सक, नर्स र अस्पतालप्रति आशा राख्छन्। त्यसलाई पूरा गर्नु तपाईँहरूको दायित्व हो,” उनले भने।
नर्सहरूको सेवाभाव र व्यवहारले पनि उपचारमा ठूलो भूमिका रहने उनले उल्लेख गरे।
सो अवसरमा प्रधानमन्त्री ओलीले अस्पताल विस्तार सहयोग गरेका भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङलाई सम्मान गरेका थिए।
कार्यक्रममै प्रधानमन्त्री ओलीले नयाँ सेवा भवन उद्घाटन गरेका छन्।
