नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनका लागि आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन्।
सोमबार प्रतिनिधिसभामा विशेष सम्बोधन गर्दै उनले वर्तमान सरकार गठन गर्दा कांग्रेस र एमालेले संविधान संशोधनको प्रतिबद्धता गरे पनि व्यवहारमा नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गरे।
उनले संविधान संशोधनका लागि सातवटा मुख्य एजेन्डा प्रस्ताव गरेका छन् —
१. शासकीय स्वरूप
२. निर्वाचन प्रणाली
३. प्रदेशको नामाङ्कन
४. प्रदेशको सीमाङ्कन, पहिचान र अधिकारको सम्बोधन
५. वित्तीय संघीयता
६. अझ राम्रो समावेशिता
७. सामाजिक न्यायमा थप व्यवस्था
प्रचण्डले सरकार अगाडि बढ्न चाहे माओवादी केन्द्रले दुई तिहाइ बहुमत जुटाउन सहयोग गर्ने प्रतिबद्धता जनाए।
उनले संविधान जारी हुँदाका असन्तुष्टि सम्बोधन गर्दै संशोधन गर्नुपर्नेमा जोड दिँदै प्रश्न गरे, “सरकारसँग संविधान संशोधनको हिम्मत छ?”
तर, उनले यी एजेन्डाको विस्तृत व्याख्या भने नगरेका हुन्। संशोधनका लागि प्रस्तुत विषय मात्र उल्लेख गर्दै उनले सरकारलाई अग्रगामी पहल गर्न सुझाव दिएका छन्।
