भिजिट भिसा प्रकरणमा संसदीय विशेष छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन गठन नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै दुवै दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसक्रममा सभामुखले रास्वपाका सांसद अशोक चौधरीलाई बोल्ने अवसर दिए। चौधरीले भिजिट भिसा प्रकरणमा आफूहरूले पटक–पटक उठाउँदै आएको मागअनुसार छानबिन समिति नबनाइएको भन्दै विरोध जारी राख्ने बताए।
पछिपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि बोल्दै, मागअनुसार समिति गठन नभएसम्म आफूहरू विरोधमा रहने स्पष्ट पारे।
दुवै दलका सांसदहरूले धारणा राखेपछि उनीहरू बैठक कक्षबाट बाहिरिएका थिए।
