प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विश्वकै पुरानो चिकित्सा अभ्यास रहँदै आएको दाबी गरेका छन्।
सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा विस्तारित सेवा भवनको उद्घाटन कार्यक्रममा उनले नेपालको भूभागमा प्राचीनकालदेखि चिकित्सा विज्ञान र अभ्यासको परम्परा रहेको बताए।
उनका अनुसार, चिकित्सा ज्ञानको प्रादुर्भावकर्ता मानिने हिप्पोक्रेटस भन्दा ६ सय वर्षअघि नै नेपालमा सर्जरी विधि विकास भइसकेको थियो। प्रधानमन्त्री ओलीले भने, “तीन हजार वर्षअघि चतरामा विश्वामित्रका छोरा ऋषि सुश्रुतले शल्यक्रिया सिकेका र साथीको काटिएको औंलो जोडेर चिकित्सा इतिहासमा उदाहरणीय कार्य गरेका थिए।”
ओलीका अनुसार, नेपालमा जनसंख्या कम भएपछि सुश्रुतले शल्यक्रियाको अभ्यास विस्तार गर्न बनारस पुगेका थिए।
प्रधानमन्त्रीले विभिन्न ऋषिमुनिहरू — जनक, चरक, पाणिनीजस्ता व्यक्तिहरू नेपालकै भूभागसँग जोडिएका दाबी गरे। उनले चरकलाई आयुर्वेद र चिकित्सा शास्त्रका प्रवर्तक मानेको उल्लेख गरे।
लक्ष्मण बेहोस हुँदा हनुमानले जडिबुटी ल्याएको प्रसंग सुनाउँदै ओलीले त्रेतायुगमा पनि नेपालमा स्वास्थ्य अभ्यास रहेको बताएका थिए।
उनका अनुसार, चिकित्सा विज्ञानको आदि स्थल नेपाल भए पनि अहिले त्यस क्षेत्रमा पछि परिरहेकोमा चिन्ता व्यक्त गरे। साथै, बिरामीको सङ्ख्या घटाउन आवश्यक कदम चाल्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए।

