राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले स्पेनको सेभिल प्रकरणले आफूहरूले प्रतिनिधिसभामा उठाउँदै आएको भिजिट भिसा सम्बन्धी मुद्दा थप पुष्टि भएको दाबी गरेकी छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै श्रेष्ठले संसदमा आन्दोलन भइरहँदा पनि बिचौलियाहरू निर्भीक रूपमा क्रियाशील रहेकोप्रति आक्रोश व्यक्त गरिन्। “बिचौलियाहरूलाई न त डर छ, न त कुनै संकोच,” भन्दै उनले यस्तो अवस्था कसैको कमजोरीका कारण सिर्जना भएको आरोप लगाइन्।
उनले भनिन्, “सभामुखज्यू, सदनको गरिमा निलो रिबनमा होइन, यस्ता गम्भीर विषयमा खोजिनुपर्छ। कसले उच्च निकायको मर्यादा घटायो भन्ने सोच्नुपर्ने बेला आएको छ।”
श्रेष्ठका अनुसार २०७८ साल फागुनमा बनेको भिजिट भिसा सम्बन्धी कार्यदलको प्रतिवेदन गृह मन्त्रालयको कुनामा बेवारिसेझैँ बसेको छ। उनले कोभिडपछिको समयमा दुबईमा भिजिट भिसामा अलमलिएका नेपालीहरूको समस्याबारे गठित कार्यदल र अहिलेको समितिबीच खासै भिन्नता नभएको बताइन्।
यिनै कारणले उनले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग पुनः दोहोर्याउँदै सरकारको जवाफदेही माग गरिन्।
