राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले हाल देखिएको आन्तरिक विवादबीच पनि पार्टी विभाजन नहुने दाबी गरेका छन्।
आइतबार निर्वाचन आयोगमा पुगेका असन्तुष्ट नेताहरूको समूहमा सहभागी हुँदै डा. लोहनीले भने, “पार्टी फुट्दैन, ढुक्क हुनुस्। पार्टीभित्र न्याय भयो भने अझ बलियो हुन्छ। राप्रपा सबैको साझा पार्टी हो, यसलाई मिलेर अघि बढाउनु पर्छ।”
उनले पार्टीमा कारबाहीको विषयमा विधानसम्मत ढंगले अघि बढ्नुपर्ने धारणा राखे। “जहानिया शासन सकिएको छ, कारबाही गर्नै परे विधानअनुसार होस्,” उनले स्पष्ट पारे।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय निर्णय विना नै केही नेताहरूलाई जिम्मेवारीबाट हटाएकोप्रति असन्तुष्ट हुँदै नेताहरू आयोग पुगेका थिए। सोही प्रसंगमा डा. लोहनीले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
राजसंस्थाको पुनर्स्थापनाका पक्षमा बोल्दै लोहनीले भने, “आन्दोलन भनेको चिया पिउनुजस्तो सहज कुरा होइन, तर नेपालमा सन्तुलन कायम गर्न आन्दोलन आवश्यक छ।”
संविधानभित्रै राजसंस्था र यसको पहिचान सुनिश्चित नगरेसम्म स्थायित्व नआउने भन्दै उनले थपे, “यसका लागि आवश्यक जमिन तयार भइसकेको छ, अब हामी सबै मिलेर अघि बढ्नुपर्छ।”
