‘संयुक्त जनआन्दोलन समिति’का संयोजक तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता नवराज सुवेदीले हाल देखिएको आन्तरिक विवादले पार्टी नफुट्ने स्पष्ट पारेका छन्।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले असार २५ गते सुवेदीलाई अनुशासन समिति अध्यक्ष पदबाट हटाएका थिए। त्यसको सट्टामा उपाध्यक्ष रोशन कार्कीलाई नयाँ अनुशासन समिति अध्यक्षमा मनोनीत गरिएको थियो।
सुवेदीले आफूलाई पार्टीको विधानविपरीत हटाइएको भन्दै आइतबार निर्वाचन आयोगमा औपचारिक उजुरी दिएका छन्। उनले केन्द्रीय समितिबाट निर्णय नगरी एकलौटी रूपमा अध्यक्षद्वारा आफूलाई हटाइएको बताएका छन्।
सञ्चारकर्मीहरूसँग आयोग परिसरमा कुरा गर्दै सुवेदीले भने, “मलाई कुनै जानकारी दिइएन, सचिवालयमा सोध्दा अध्यक्षले हटाएको भनेपछि मात्र थाहा पाएँ। पत्र पनि आएको थिएन, मिडियाबाट जानकारी पाएको हुँ।”
उनले अनुशासन विपरीत कुनै कार्य नगरेको जिकिर गर्दै भने, “मैले के गल्ती गरेँ? पार्टीभित्र अन्याय भइरहेको देखेपछि न्यायको पक्षमा आवाज उठाएको हुँ।”
यद्यपि, सुवेदीले यो घटनाले पार्टीमा विभाजन नआउने स्पष्ट पारेका छन्। “यो विवादले पार्टी फुट्दैन,” उनले भने, “पार्टी अझ बलियो होस् भनेर आयोगमा गएको हुँ।”
सुवेदीले नेतृत्वमा गठन भएको ‘संयुक्त जनआन्दोलन समिति’ले राजसंस्थाको पुनर्स्थापनाको पक्षमा भइरहेको आन्दोलन अझै जारी रहेको पनि उल्लेख गरे। “यो आन्दोलन राप्रपाको मात्रै होइन, ४४/४५ वटा संस्थाको साझा अभियान हो,” उनले बताए।
यसैबीच, अध्यक्ष लिङ्देनले प्रवक्ताको जिम्मेवारीबाट हटाएका सगुनसुन्दर लावती पनि निर्वाचन आयोग पुगेका छन्। उनले विगतदेखि पार्टीभित्र भइरहेको अन्यायको विरोधमा आयोगमा गुनासो लिएर गएको बताए।
लावतीले भने, “हामी पार्टीका सिपाही हौं, तर पटक–पटक अन्याय भयो। मलाई तेस्रो पटक हटाइएको हो, तर कुनैपल्ट पनि स्पष्टिकरण मागिएन।” उनले सुवेदीमार्फत आवाज उठाउन आएको स्पष्ट गरे।
