गुल्मीको कालिगण्डकी करिडोर सडक आइतबार बिहान पुनः ठूलो पहिरोले अवरुद्ध भएको छ। कालिगण्डकी गाउँपालिकाको वडानम्बर–६ बर्लवा र वडानम्बर–१ गरगरे क्षेत्रमा चट्टानसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
उनका अनुसार पहिरोले सडक पुरिएकाले सवारीसाधन सञ्चालन पूर्ण रूपमा ठप्प भएको छ, जसका कारण यात्रु र स्थानीयवासी प्रभावित भएका छन्।
सडक खुलाउने प्रयासमा इलाका प्रहरी चौकी भुर्तुङ गुल्मीबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ। सो टोलीले स्थानीय तहसँग समन्वय गर्दै पहिरो हटाउने काम थालेको एसपी अधिकारीले बताए।
मनसुन सुरु भएयता कालिगण्डकी करिडोरमा पटक–पटक पहिरो खस्ने क्रम जारी छ। यसै सन्दर्भमा एसपी अधिकारीले यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न र आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेका छन्।
