राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र फेरि एकपटक आन्तरिक विवाद चुलिएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवक्ता सगुनसुन्दर लावती र अनुशासन समिति अध्यक्ष नवराज सुवेदीलाई हटाएपछि नेतृत्वको निर्णयप्रति असन्तुष्टि बढेको हो।
असार २५ गते अध्यक्ष लिङ्देनले लावतीलाई प्रवक्ताबाट हटाउँदै अनुशासन समिति अध्यक्षमा उपाध्यक्ष रोशन कार्कीलाई मनोनयन गरेका थिए। यसअघि उक्त जिम्मेवारी सुवेदीसँग थियो। सुवेदीले गत चैत ४ गते ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को संयोजकको रूपमा भूमिका निभाउँदै पार्टीको साधारण सदस्यसमेत नरहेको घोषणा गरेका थिए। यही अभियानमा प्रवक्ता लावती पनि सक्रिय थिए।
तर, अध्यक्ष लिङ्देनले एकल निर्णयमा यस्ता कदम चालेको भन्दै पार्टीभित्र आलोचना चुलिएको छ। महामन्त्री धवल शम्शेर राणा लगायत नेताहरूले निर्णय पार्टी विधानविपरीत भएको दाबी गर्दै शनिबार काठमाडौंमा भेला गरेका थिए। सो भेलाले निर्वाचन आयोगमा ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको थियो।
महामन्त्री राणाका अनुसार उनीहरू आज निर्वाचन आयोगमा ज्ञापन दिनेछन्। लावतीले पनि आजै आयोगमा पुग्ने जानकारी दिएका छन्। उनले पार्टी विधि र प्रक्रियाअनुसार काम हुनुपर्नेमा जोड दिएका छन्।
प्रवक्ता मोहन श्रेष्ठले सुवेदीप्रति लक्षित गर्दै सार्वजनिक रूपमै पार्टी परित्याग गरेको व्यक्तिले आयोग पुगेर पुनः सक्रियता देखाउनु लोकलाजविहीन व्यवहार भएको टिप्पणी गरेका छन्।
सुवेदीको नेतृत्वमा सुरू भएको ‘अनिश्चितकालीन जनआन्दोलन’ अहिले निष्क्रिय अवस्थामा पुगेको छ। त्यसमै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री राणाले पनि प्रारम्भिक भूमिका निर्वाह गरेका थिए।
यसअघि माघ महिनामा भएको केन्द्रीय समिति बैठकमा पनि महामन्त्री राणाले अध्यक्ष लिङ्देनको कार्यशैलीमाथि प्रश्न उठाउँदै बेग्लै राजनीतिक प्रतिवेदन समेत पेस गरेका थिए। प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनुले पार्टीलाई क्षति पुगेको टिप्पणीसमेत गरेका थिए।
यसरी, पछिल्ला गतिविधिले राप्रपाभित्रको असन्तोष पुनः सतहमा देखिएको छ।
