पूर्वमन्त्री तथा नेकपा एमालेका नेता कर्णबहादुर थापाले महासचिव शंकर पोखरेलमाथि पार्टी कार्यालयलाई गुटबन्दीको थलो बनाएको आरोप लगाएका छन्।
महाधिवेशन अघि नेतृत्व चयनमा विवाद नगर्न भन्दै कार्यकर्तालाई निर्देशन दिइएपछि थापाले फेसबुकमार्फत पोखरेलमाथि तीव्र असन्तुष्टि व्यक्त गरेका हुन्। उनले महासचिव पोखरेलले अध्यक्षको नाममा झुटा प्रशंसा गाउनेहरूलाई संरक्षण गर्दै देशभरका कार्यकर्तामाथि धम्कीपूर्ण भाषा प्रयोग गरेको उल्लेख गरेका छन्।
पूर्वराष्ट्रपति विद्या भण्डारी एमाले राजनीतिमा पुनः सक्रिय भएपछि पोखरेलले खुलेर असन्तुष्टि जनाइरहेका बेला थापाको यस्तो टिप्पणी आएको हो।
थापाले लेखेका छन्, “दसौं महाधिवेशनपछिको समयदेखि पार्टी महासचिवलाई केन्द्रमा राखेर गतिविधि सञ्चालन गरिएको छ। गुटबन्दीको प्रवृत्तिले पार्टी कार्यालयलाई थलो बनाएको छ। अध्यक्षको प्रशंसाको नाममा झुटा गीत गाउनेहरूलाई ‘अध्यक्षका रक्षक’ भन्दै कार्यकर्तालाई धम्क्याउनु पार्टी नीति र हित विपरीत हो।”
सत्य पक्षमा उभिँदै आएको भन्दै थापाले आगामी दिनमा पनि सत्यका पक्षमा दृढ रहने बताएका छन्। साथै, सम्पूर्ण पार्टी पंक्तिलाई सोचविचार गरेर धारणा बनाउन आग्रह गरेका छन्।
