ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रसुवामा हालै आएको बाढीका कारण करिब २६० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडबाट छुटेको जानकारी दिएका छन्।
राष्ट्रियसभाको बैठकमा मंगलबार उनले ‘जलस्रोत विधेयक २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे, जुन सर्वसम्मतिले पारित भएको हो। बैठकमा बोल्दै मन्त्री खड्काले रसुवाको बाढीले त्रिशूली करिडोरमा सञ्चालित प्रमुख जलविद्युत् आयोजनाहरू प्रभावित भएको बताए।
उनका अनुसार १११ मेगावाटको रसुवागढी, २२ मेगावाटको चिलिमे, २१ मेगावाटको त्रिशूली र १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् आयोजना बाढीका कारण अवरुद्ध छन्।
मन्त्री खड्काका अनुसार यो बाढीको प्रमुख कारण लगातारको वर्षा नभई हिमताल विस्फोट भएको प्रारम्भिक अनुमान छ। सेन्टिनल एसिया प्लेटफर्मको डेटा अनुसार तिब्बत क्षेत्रस्थित लेन्दे खोलामा रहेको सुपर ग्लेसियरको आकार घट्दै गएको देखिएको छ, जसले बाढी निम्त्याएको सम्भावना प्रकट गरिएको छ।
सरकारले अब त्यस्ता सम्भावित जोखिम क्षेत्रहरूको अध्ययन र व्यवस्थापनमा विशेष ध्यान दिने तयारी गरेको छ।
