काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले कर्मचारीहरूको सेवा व्यवहार सुधार गर्न नयाँ नैतिक आचारसंहिता लागू गरेको छ।
अबदेखि अध्यागमन डेस्कमा कार्यरत कर्मचारीले नेपाल प्रवेश गर्ने यात्रुहरूलाई “Welcome to Nepal, Have a nice day” र देश बाहिरिने यात्रुहरूलाई “Have a nice journey” भनेर अनिवार्य रूपमा सम्बोधन गर्नुपर्नेछ।
प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाको निर्देशनमा लागू भएको यो आचारसंहिताअनुसार श्रमिक तथा विदेश जाने यात्रुहरूसँग सम्मानपूर्वक, नम्र र मर्यादित व्यवहार गर्नुपर्नेछ।
विमानस्थललाई राष्ट्रको पहिलो छवि मानिने उल्लेख गर्दै कार्यालयले यात्रुलाई रूखो बोली, अपमानजनक हाउभाउ वा ढिलासुस्तीपूर्ण सेवा दिन कडाइका साथ निषेध गरेको छ।
साथै, यात्रुको सेवाप्रति सन्तुष्टि मापन गर्न हाल १५ डेस्कमा ‘एक्जिट–सर्भे’ प्रणाली सञ्चालनमा ल्याइएको छ, जसअन्तर्गत यात्रुले आफ्नो अनुभव तत्कालै व्यक्त गर्न सक्नेछन्।
नयाँ आचारसंहिताले अध्यागमन सेवालाई छिटोछरितो, निष्पक्ष र पारदर्शी बनाउँदै नेपाल प्रवेश गर्ने पर्यटक र नागरिकका लागि सकारात्मक अनुभव निर्माण गर्ने अपेक्षा गरिएको छ।
