नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) नेपालको **केन्द्रीय सल्लाहकार समिति (एडभाइजरी बोर्ड)**को पहिलो बैठक शुक्रबार होटल रोयल टुलिप, ग्वार्कोमा सम्पन्न भएको छ।
बैठकमा एडभाइजरी बोर्ड सदस्यहरू डा. धनञ्जय रेग्मी, अनिल भण्डारी, ठाकुर प्रसाद न्यौपाने, रितु भट्ट, अच्युत गुरागाई, शिवहरि सापकोटा, र नासा फाउण्डेशन नेपालका संयोजक कृष्ण सिंह बस्नेतको उपस्थिति रहेको थियो। साथै, संघका उपाध्यक्ष सिताराम न्यौपाने, सचिव दिप्रश शाक्य लगायत पदाधिकारीहरू पनि सहभागी थिए।
बैठकले यस आर्थिक वर्षमा सम्पन्न स्पोर्ट्स इभेन्टहरू, सुरक्षित यातायात र पर्यटन कार्यक्रमहरू, मार्शल एथलेट्स तालिमहरू, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागितासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै स्वीकृत गरेको छ। साथै आगामी कार्ययोजनाहरूका लागि विभिन्न सुझावहरू संकलन गरिएको नासा नेपालले जानकारी दिएको छ।
यस बैठकमा संघको कार्यविभाजनसम्बन्धी संशोधित प्रस्ताव, विगतका उपलब्धिहरूको समीक्षा र भविष्यमा सुधार गर्नुपर्ने पक्षहरूमा समेत विस्तृत छलफल गरिएको थियो।
निकट भविष्यमै सुरु गरिने मोटरिङ एकेडेमी, पर्यटन केन्द्रित परियोजना तथा अटोमोबाइल र प्रभावकारी यातायात प्रणालीका लागि नीतिगत संवाद कार्यक्रमबारे पनि विशेष छलफल गरिएको छ।
बैठकबाट पारित प्रस्ताव र सुझावहरू नासा नेपालको एघारौं साधारण सभाबाट अनुमोदन गरी यथासक्य छिटो कार्यान्वयन गरिने जनाइएको छ।

