सर्लाहीका व्यवसायी सिद्धिबहादुर राय क्षेत्रीले तीन वर्षअघि दिएको २६ लाख रुपैयाँको चेक बाउन्स भएपछि सन्तोषी निर्माण सेवा प्रालिका सञ्चालक केशवराज कँडेलविरुद्ध सर्लाही जिल्ला अदालतमा चेक अनादरको मुद्दा दायर गरेका थिए।
तर, सोही मुद्दा विचाराधीन रहेको अवस्थामा २०७८ सालको घटनामा उजुरी दिएका क्षेत्री आफैँ २०८१ असार २३ गते प्रहरीद्वारा पक्राउ परेका हुन्। बागमती साइन्ड प्रोसेसिङ प्रालिका सञ्चालक रहेका क्षेत्रीविरुद्ध कँडेलका छोरा उज्वलराजले ठगी र आपराधिक विश्वासघातको जाहेरी दिएपछि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो।
पक्राउ परेपछि एक रात प्रहरी हिरासतमा राखिएका क्षेत्रीलाई सर्लाहीमा चलिरहेको मुद्दा र आफू नै पीडित भएको प्रमाण देखाएपछि भोलिपल्ट असार २४ गते नै रिहा गरिएको थियो।
क्षेत्रीले सन्तोषी निर्माण सेवा प्रालिका चेक, अदालतमा बुझाइएको प्रतिउत्तर, फिरादपत्र लगायतका प्रमाणहरू पेस गरेका थिए। रिहापछि उनले मुद्दा चलिरहेको बेला राजनीतिक पहुँच र शक्तिको दुरुपयोग गर्दै आफूलाई अन्यायपूर्वक पक्राउ गरिएको भन्दै आपत्ति जनाए।
यस घटनाले विवादित मुद्दा समाधान नहुदै झूटो जाहेरीको आधारमा पीडितलाई दोषी बनाउने प्रयास भएको भन्दै कानुनी निष्पक्षतामाथि पनि प्रश्न उठाएको छ।
