ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानजनक बनाउन विशेष व्यवस्था गर्नुपर्ने मागसहित राष्ट्रिय सभामा एक जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ।
उक्त प्रस्ताव नेकपा (एमाले) की सांसद सुमित्रा बिसी द्वारा राखिएको हो। प्रस्तावमा सांसद उर्मिला अर्याल, कमला पन्त, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, मदनकुमारी शाह (गरिमा), पदमबहादुर परियार र पूजा चौधरी ले समर्थन जनाएका छन्।
सांसदहरूले युवा जनशक्तिको विदेश पलायनले घर-परिवारमा ज्येष्ठ नागरिकहरू असुरक्षित बन्न थालेको उल्लेख गर्दै सरकारले यस विषयमा गम्भीर ध्यान दिनुपर्नेमा जोड दिए। उनीहरूले ज्येष्ठ नागरिकको सक्रियता र जन्मदर बढाउने खालका नीतिहरू आवश्यक भएको बताए।
प्रस्तावमा सांसद बिसीले स्वास्थ्य सेवा निःशुल्क गर्ने, अवस्थाअनुसार हवाई र सार्वजनिक यातायातमा छुट दिने, साथै बैंकहरूमा रहेको निष्क्रिय खाता रकम ज्येष्ठ नागरिक कोषमा रूपान्तरण गर्ने व्यवस्थाको माग गरेकी छन्।
उक्त प्रस्तावमार्फत सांसदहरूले ज्येष्ठ नागरिकको हितमा ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।
