राष्ट्रिय युवा परिषद्द्वारा सञ्चालन गरिएको सङ्घीय नमुना युवा संसद्–२०८२ अन्तर्गत भक्तपुरका विजय खनाल नमुना युवा प्रधानमन्त्री र बाँकेका विवेक शर्मा नमुना सभामुख पदमा निर्वाचित भएका छन्।
देशभरबाट स्थानीय तह, प्रदेश हुँदै संघीय तहसम्म प्रतिस्पर्धा गरी छनोट भएका ८० जना युवा सांसद मध्येबाट मतदान प्रक्रियामार्फत उनीहरू निर्वाचित भएका हुन्। प्रधानमन्त्रीका लागि ६ र सभामुखका लागि ७ उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। उम्मेदवारहरूले तीन मिनेटको प्रतिबद्धता मन्तव्य राखेपछि मतदान सम्पन्न भएको हो।
नमुना प्रधानमन्त्री पदमा दिपक परियार, दीपेन्द्र गौतम, आकाश ओली, उमेश शर्मा सुवेदी, नविना सापकोटा र विजय खनाल प्रतिस्पर्धी थिए। यस्तै सभामुखमा अंकित घिमिरे, दिपा आचार्य, भरत कठायत, सौगात घिमिरे, शिक्षा प्रसाईँ, शिवजी प्रसाद कुशवाह र विवेक शर्मा उम्मेदवार थिए।
राष्ट्रपति पदमा आशु चौधरी र राष्ट्रिय सभाका अध्यक्षमा सोहम् सोनार सहमतिमै चयन भएका छन् भने प्रमुख प्रतिपक्षी दलको नेतामा रिजवान बधई र उपसभामुखमा रेनुका भट्टराई निर्वाचित भएकी छन्।
१६–२४ वर्ष उमेर समूहका युवाको नेतृत्व विकास गर्न, संविधान, शासन व्यवस्था र कानुन निर्माण प्रक्रियाको अनुभव दिन परिषद्ले चार दिनसम्म जीवन्त अभ्यास आयोजना गरेको कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिएका छन्।
यस अभ्यासमा सांसदहरू, कानुनविद्, प्रशिक्षक तथा अनुभवसहितका वक्ताहरूले सहभागी युवाहरुलाई मार्गदर्शन गरेका थिए। आउँदो शनिबार सभामुख देवराज घिमिरेले कार्यक्रमको अवलोकन गर्ने कार्यक्रम तय भएको छ।
