प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि आवश्यक रहेको भन्दै समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन्।
विश्व जनसङ्ख्या दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक गरेका हुन्। प्रधानमन्त्री ओलीले विकास र जनसङ्ख्याको गतिले समानान्तर रूप लिनुपर्नेमा जोड दिंदै हरेक व्यक्तिले आफ्नो सन्तानप्रतिको जिम्मेवारीलाई पृथ्वीप्रतिको उत्तरदायित्वको रूपमा बुझ्नुपर्ने बताए।
उनले भने, “मानव जातिको अस्तित्वको रक्षाका लागि उपयुक्त नीति र कदमहरू चाल्न जरुरी छ। सृष्टिको सृजनामा मानवभन्दा मूल्यवान अरू केही छैन। एकातिर जनसङ्ख्याका बारेमा छलफल गर्ने र अर्कोतिर मानव विनाशका हतियार उत्पादन गर्ने प्रवृत्तिले संसारको अस्तित्व नै संकटमा पार्न सक्छ।”
प्रधानमन्त्रीले सरकारले विवाहको न्यूनतम उमेर २० वर्ष राखेकाले समयमै विवाह गरेर ३० वर्ष पुग्दासम्म तीन सन्तान जन्माइसक्ने सोच बनाउनु पर्ने सुझाव पनि दिए। उनले गीत-सङ्गीतका सन्देशहरूले जनसंख्या वृद्धिमा गलत प्रभाव पारेको भन्दै सन्तुलित र जिम्मेवार सन्देश फैलाउनु पर्ने उल्लेख गरे।
विकसित देशहरूमा जनसङ्ख्या ऋणात्मक बन्दै गएको अवस्था देखिँदा मानव अस्तित्व नै जोखिममा परेको बताउँदै उनले नेपालले समयमै कदम चाल्नुपर्नेमा जोड दिए। साथै, जनसङ्ख्यालाई सन्तुलित रूपमा व्यवस्थापन गर्न सार्वजनिक गरिएको राष्ट्रिय नीति कार्यान्वयनमा गम्भीरता पूर्वक लाग्नुपर्ने उनको भनाइ थियो।

