पतञ्जली जग्गा प्रकरणसम्बन्धी मुद्दामा विशेष अदालतले शुक्रबार चार प्रतिवादीको बयान लिन सुरु गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा दायर गरेको मुद्दासम्बन्धी सन्दर्भमा चार जनाले शुक्रबार अदालतमा उपस्थित हुने जानकारी गराएका थिए। सोही आधारमा उनीहरूको बयान प्रक्रिया अघि बढाइएको हो।
विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासमा बयान लिने कार्य सुरु भएको छ।
बयान दिइरहेका व्यक्तिहरूमा भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव स्व. माधवप्रसाद घिमिरेकी पत्नी कमला घिमिरे, मालपोत कार्यालय काभ्रेका पूर्व नायब सुब्बा रामकाजी श्रेष्ठ, केदारनाथ भट्टराई र खरिदार मोनराम शर्मा रहेका छन्।
बयान प्रक्रिया सकिएपछि उनीहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्नेबारे थुनछेक बहस हुनेछ। त्यसपछि अदालतले आवश्यक निर्णय लिने बताइएको छ।
