रोल्पाको थवाङ गाउँपालिकाबाट तीन दिनदेखि सम्पर्कविहीन रहेका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहित सात जना कर्मचारी बुधबार पालिकाको सम्पर्कमा आएका छन्।
असार २३ गते राति ९ बजे कार्यालयबाट बाहिरिएका उनीहरू बुधबार गुल्मी पुगेको जानकारी आएको गाउँपालिका अध्यक्ष ऋषिकेष बुढामगरले बताएका छन्। “केही समयअघि मात्रै सम्पर्क भयो, उहाँहरू लिवाङ हुँदै कार्यालय फर्किने तयारीमा हुनुहुन्छ,” अध्यक्ष बुढामगरले बताए।
२३ गते रातिदेखि सम्पर्कविहीन भएपछि गाउँपालिकाले सूचना सार्वजनिक गर्दै उनीहरूलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको थियो। सूचना अनुसार, प्रमुख प्रशासकीय अधिकृत घर्तीमगरले भुक्तानी प्रक्रिया सहज बनाउन रुकुम पूर्व जाने योजना रहेको बताएका थिए।
“यहाँ नेटवर्कको समस्या हुन्छ, भुक्तानीका बेला समस्या नआओस् भनेर जानु भएको भन्ने जानकारी छ,” अध्यक्ष बुढामगरले थपे।
सम्पर्कविहीन भएका कर्मचारीहरूमा प्रमुख प्रशासकीय अधिकृत घर्तीमगरसँगै सहायक प्रशासक हरिश माझी, सह-लेखापाल यज्ञ प्रसाद कँडेल, सबइन्जिनियर चन्द्रप्रकाश ओली, सबइन्जिनियर निशा आचार्य, कर्मचारी शिवकुमार वली र चालक प्रदीप केसी रहेका थिए।
“उहाँहरू सबैको मोबाइल बन्द थियो, आफैंले पनि पालिकासँग सम्पर्क गर्नु भएको थिएन,” बुढामगरले बताए, “सबैजना कार्यालयबाहिर गएपछि दैनिक कामकाजमा असर परेको थियो। अहिले भने सम्पर्कमा आउनुभएको छ। तर गुल्मी किन जानु भयो भन्ने भने खुलाइएको छैन।”
बुधबार दिउँसो २ बजे उनीहरू बुर्तिबाङको एक होटलमा रहेको सूचना पालिकाले पाएको अध्यक्ष बुढामगरले जानकारी दिए।
यस विषयमा थप छलफल भने उनीहरू कार्यालय फर्केपछि हुने जनाइएको छ। घटनाबारे जानकारी लिन प्रमुख प्रशासकीय अधिकृत घर्तीमगरलाई कार्यालयको वेबसाइटमा रहेको सम्पर्क नम्बरमा फोन गर्दा उनले उठाएका थिएनन्।
