गत मंगलबार चीनको तिब्बत क्षेत्रबाट नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोशी) मा आएको बाढीले रसुवा र नुवाकोटका १० भन्दा बढी जलविद्युत आयोजनामा गम्भीर क्षति पुर्याएको छ। स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था इप्पानका अनुसार निर्माण सम्पन्न भइसकेका तथा निर्माणाधीन अवस्थामा रहेका आयोजनाहरू प्रभावित भएका छन्।
बाढीका कारण करिब २५० मेगावाट क्षमताका सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरूको उत्पादन रोकिएको छ भने ३५० मेगावाट भन्दा बढी क्षमताका निर्माणाधीन आयोजनाको काम ठप्प भएको छ। यसले आयोजना निर्माण तथा सञ्चालनमा ठूलो भौतिक र आर्थिक क्षति पुर्याएको इप्पानले जनाएको छ।
प्रभावित आयोजनामा १११ मेगावाटको रसुवागढी जलविद्युत, ६० मेगावाटको त्रिशुली ३ ए, २५ मेगावाटको त्रिशुली जलविद्युत केन्द्र, २२ मेगावाटको चिलिमे, १४–१४ मेगावाटका माथिल्लो मैलुङ र देवीघाट जलविद्युत परियोजना तथा ५ मेगावाटको मैलुङ खोला जलविद्युत रहेका छन्। यीमध्ये केही आयोजनाको विद्युत प्रवाह हुने त्रिशुली ३ बी हब सवस्टेशनमा क्षति पुगेका कारण उत्पादन बन्द भएको हो।
इप्पानका अनुसार देवीघाट, त्रिशुली र त्रिशुली ३ ए बाहेकका आयोजनामा निजी क्षेत्रको सक्रियता छ, भने निर्माणाधीन सबै आयोजनामा निजी लगानीको अगुवाइ छ। निर्माणाधीन अवस्थामा रहेका २१६ मेगावाटको माथिल्लो त्रिशुली १, १०० मेगावाटको सुपर त्रिशुली, ३७ मेगावाटको त्रिशुली ३ बी जस्ता आयोजना पनि बाढीको प्रभावमा परेका छन्।
त्रिशुली करिडोर हुँदै विद्युत् प्रवाह गर्ने सवस्टेशन र प्रसारण लाइनमा समेत क्षति पुगेकाले आगामी केही दिन उत्पादन तथा वितरण बन्द रहँदा देशले करोडौं रुपैयाँ बराबरको घाटा व्यहोर्नुपर्ने देखिएको छ।
इप्पानले जारी गरेको विज्ञप्तिमा रसुवाको सुख्खा बन्दरगाह क्षेत्रमा रहेका दर्जनौं कन्टेनर र सयौं सवारी साधन बगाएको, निर्माणाधीन बन्दरगाह पूर्ण रूपमा क्षतिग्रस्त भएको र चीनसँगको मुख्य व्यापारिक पुल नै बगाएको उल्लेख छ। यस्तो अवस्थाले नेपाली व्यवसायीहरूलाई गम्भीर असर पुर्याएको भन्दै इप्पानले चाँडोभन्दा चाँडो नाका पुनः सञ्चालन गर्न सरकारसँग आग्रह गरेको छ।
बाढी र पहिरोको बेलामा ३६ जना कर्मचारीसहित करिब १५० जनाको उद्धारमा जुटेको नेपाल सरकार, नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीलाई इप्पानले धन्यवाद दिएको छ। साथै, क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा सरकारबाट नीति तथा प्रक्रिया सहज बनाउन, विद्युत उत्पादन र प्रसारण पुनःस्थापना गर्न र थप क्षति हुन नदिन आवश्यक कदम चाल्न समेत अनुरोध गरेको छ।
