सङ्घीय संसद्को मंगलवारको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद् भवन परिसरमा ड्रोन खसेको विषयमा ध्यानाकर्षण गराएका छन्। खतिवडाले संसद् परिसरजस्तो उच्च सुरक्षायुक्त क्षेत्रमा ड्रोन प्रवेश हुनु गम्भीर विषय भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय सन्दर्भमा यस्तो प्रविधि आतंकवादी गतिविधिमा समेत प्रयोग भएको दृष्टान्त दिँदै सुरक्षा संवेदनशीलता बढाउनुपर्ने सुझाव दिए।
राज्यव्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका खतिवडाको प्रश्नपछि, संसद् भवनको सुरक्षामा खटिएको बानेश्वर प्रहरी वृत्तसँग सोधपुछ गरिएको थियो। प्रहरीका अनुसार, असार २३ गते साँझ संसद् भवनको क्षेत्रभित्र एउटा ड्रोन खसेको सूचना प्राप्त भएको थियो। घटनास्थलमा खटिएको सुरक्षाकर्मीले उक्त ड्रोन नियन्त्रणमा लिएर हाल विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको जानकारी दिए।
बानेश्वर प्रहरीका एक अधिकृतका अनुसार, उक्त ड्रोन कुनै विशेष वा अत्याधुनिक प्रविधियुक्त नभई सामान्य प्रयोजनको भएको अनुमान गरिएको छ। तथापि, संसद् परिसरभित्रको विषय भएकाले पूर्ण परीक्षण पछि मात्र निष्कर्ष निकालिने उनले बताए।
प्रहरीका अनुसार, यसअघि पनि बानेश्वर क्षेत्रमै प्राविधिक समस्याले सामान्य ड्रोन खस्ने घटना घटिसकेका छन्। कतिपय अवस्थामा ड्रोन हराएपछि नागरिकहरूले आफैं प्रहरीलाई सम्पर्क गरेर जानकारी गराउने गरेका छन्।
हालसम्म उक्त ड्रोन कसले चलाएको थियो भन्ने खुलेको छैन। प्रयोगशालाबाट प्रतिवेदन आएपछि मात्र थप विवरण सार्वजनिक गरिने जनाइएको छ।
