बुधबारको प्रतिनिधिसभा बैठकका लागि तय गरिएको कार्यसूचीबाट ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ हटाइएको छ। सत्तारूढ दल नेपाली कांग्रेसले असहमति जनाएपछि सो विधेयक कार्यसूचीबाट हटाइएको हो।
कार्यसूचीअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले विधेयकमाथि दफावार छलफल गर्न संसद्मा प्रस्ताव ल्याउने तयारी थियो। तर कांग्रेसको आपत्तिपछि संसद् सचिवालयले विधेयक तत्काल हटाउने निर्णय गरेको हो।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पर्याप्त गृहकार्य र राजनीतिक सहमति बिना विधेयक अगाडि बढाउनु उपयुक्त नहुने बताएका थिए। उनले सामाजिक सञ्जालमार्फत सरकारलाई सचेत गराउँदै, सहमति जुटाएर मात्र विधेयक अगाडि बढाउनुपर्ने धारणा राखेका थिए।
शर्माले विधेयकमा आवश्यक संशोधन गरेर संसद्मा प्रस्तुत गर्न सुझाव दिएका छन्। सरकार र दलहरूबीच सहमतिको प्रयास नहुन्जेल विधेयक स्थगित रहने देखिएको छ।
