कर्णाली प्रदेशसभाको मंगलबारको बैठक नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का सांसदहरूको विरोधका कारण अवरुद्ध भएको छ।
बैठकको प्रारम्भमै कांग्रेस सांसद बेदराज सिंहले जाजरकोट भूकम्पपछि आपतकालीन अवस्थामा कार्य गरेका निर्माण व्यवसायीलाई सरकारले अझै भुक्तानी नदिएको भन्दै विरोध जनाए। उनले संसद्मा उभिएर सरकारको ढिलासुस्तीप्रति आक्रोश व्यक्त गरे।
त्यसपछि माओवादी केन्द्रका सांसद मंगलबहादुर शाहीले शहीद स्मृति भत्ता तथा द्वन्द्वकालीन घाइते र अपाङ्गता भएका व्यक्तिहरूको जीवन निर्वाह भत्ता वितरणमा देखिएको समस्या उठाए। तातोपानी गाउँपालिकामा वितरण नहुनु आपत्तिजनक रहेको उनले बताए।
सांसद शाहीले भने, “मुख्यमन्त्रीले जवाफ नदिएसम्म कांग्रेस सांसदजस्तै हामी पनि उभिरहन्छौं।” त्यसपछि प्रतिपक्षका अन्य सांसदहरू पनि उभिएर समर्थन जनाए।
सभामुख नन्दा गुरुङले पटक–पटक बस्न अनुरोध गर्दा पनि सांसदहरूले अडान नछाडेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
यस घटनाले प्रदेशसभामा बजेट कार्यान्वयन र सेवाप्रवाहसँग जोडिएका विषयलाई लिएर असन्तुष्टि चुलिँदै गएको देखिन्छ।
