रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह बाढीको चपेटामा परेपछि १४ जना कामदार बेपत्ता भएका छन्। नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार बेपत्ता हुनेमा ८ जना नेपाली र ६ जना चिनियाँ नागरिक छन्।
प्रभावित बन्दरगाहको प्रारम्भिक मूल्याङ्कन अनुसार कुल संरचनाको करिब ६० प्रतिशतमा क्षति पुगेको छ। चार सय मिटर लामो रिटेनिङ वाल पूर्ण रूपमा बगिसकेको छ भने बेचिङ प्लान्टसमेत नष्ट भएको छ।
लिटिगेसन सेड, वेयरहाउस, ट्वाइलेट ब्लक र इन्स्पेक्सन सेड जस्ता संरचनाहरूमा पनि गम्भीर क्षति पुगेको छ। वेयरहाउसको फाउन्डेसन बगिएको छ भने पार्किङ क्षेत्र पूर्णरूपमा क्षतिग्रस्त भएको र बालुवा तथा गिट्टीले भरिएको देखिएको छ।
इन्ट्री रोडतर्फको रिटेनिङ वालमा पनि क्षति पुगेको छ। समितिका अनुसार मुख्य कम्प्लेक्स भवन बाहेकका सबै पूर्वाधार बाढीबाट प्रभावित भएका छन्। यद्यपि, एक्जिट रोड भने सुरक्षित रहेको जनाइएको छ।
यो बाढीले निर्माणाधीन बन्दरगाहमा ठूलो वित्तीय तथा भौतिक क्षति पुर्याएको हुँदा पुनर्निर्माण तथा खोजी कार्यमा विशेष ध्यान दिनुपर्ने देखिएको छ।
