श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सरकारी गाडी हराएको र पछि फेला परेको विषयले संसदमा चासो पाएको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले मन्त्री शरत सिंह भण्डारीसँग सोधपुछ गरे।
प्रतिपक्षी सांसद प्रेम सुवालले मन्त्री भण्डारीलाई गाडी हराएको विषयको वास्तविकता के हो भनेर प्रश्न गर्दा प्रारम्भमा कुनै जवाफ दिइएन। पछि माओवादी केन्द्रका सांसद माधव सापकोटाले पनि त्यही प्रश्न दोहोर्याएपछि मन्त्रीले धारणा राखे।
मन्त्री भण्डारीले भने, “गाडी मन्त्रालयकै अधीनमा छ, तर प्रविधिक कारणले त्यसबारे स्पष्ट जानकारी नहुन गएको थियो। पछि प्रवक्तामार्फत गाडी मन्त्रालयमै रहेको जानकारी आधिकारिक रूपमा दिइएको छ।”
यसअघि मन्त्रालयले ३–०१–००२ झ ५३६७ नम्बरको महिन्द्रा स्कोर्पियो गाडी हराएको भन्दै गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र ट्राफिक प्रहरीलाई पत्र पठाएर खोजी गर्न अनुरोध गरेको थियो। पत्रमा गाडी हराएको मिति भने उल्लेख गरिएको थिएन।
ट्राफिक प्रहरी कार्यालयका अनुसार खोजी प्रक्रिया सुरु हुनुअघि नै “गाडी भेटियो” भन्ने सूचना मन्त्रालयबाट आएको थियो। गाडी कहाँबाट कसरी भेटियो भन्नेबारे कुनै जानकारी प्राप्त नभएको प्रवक्ता एसपी दीपक गिरीले बताए।
त्यसपछि गाडीको वास्तविक स्थानबारे थप जानकारी बाहिर आयो। मन्त्रालयका कर्मचारीका अनुसार उक्त गाडी केही दिन श्रममन्त्री भण्डारीकै पार्टी लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रयोग गरेका थिए। मन्त्रीले मन्त्रालयलाई जानकारी नदिई गाडी पठाएको आरोप पनि लागेको छ।
अध्यक्ष ठाकुरको सचिवालयले भने केही दिन मात्र गाडी प्रयोग गरिएको र त्यसपछि मन्त्रालयमा फिर्ता गरिएको स्पष्ट पारेको छ।
तर अझैसम्म गाडी कसरी ‘हरायो’, किन खोजीको पत्र पठाइयो, र कसले प्रयोग गर्यो भन्ने विषयमा मन्त्रालयले औपचारिक स्पष्टीकरण दिएको छैन। यति संवेदनशील विषयमा अस्पष्टता देखिएको भन्दै संसदभित्र यसबारे थप जवाफ माग गरिएको छ।
