काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणसँग जोडिएको भिजिट भिसा प्रकरण संसद्मा विषय बनेको छ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले प्रधानमन्त्री सहभागी कार्यक्रममा गएका केही व्यक्ति स्वदेश नफर्किएको समाचार आएको भन्दै यसबारे गम्भीर ध्यान दिनुपर्ने बताइन्।
उनले भनिन्, “सम्माननीय प्रधानमन्त्री जानुभएको कार्यक्रममा सहभागी हुने बहानामा केही व्यक्ति नफर्किएको भन्ने समाचारहरू आइरहेका छन्। हाम्रो कसैप्रति व्यक्तिगत आरोप छैन, तर यो गम्भीर विषय हो।”
सांसद गौतमको अभिव्यक्तिपछि सत्तारुढ दल नेकपा (एमाले)का सांसद दामोदर पौडेल ‘बैरागी’ले ती टिप्पणीमाथि आपत्ति जनाउँदै प्रश्न गरे— “यस विषयमा के प्रमाण छ? के यसरी मन लागे जसलाई आरोप लगाउने कुरा सदनमा राख्न मिल्छ? अनि त्यसपछि सदन बहिष्कार गरेर हिँड्ने अभ्यास स्वीकार्य हो?”
उनले गौतमले उठाएको आरोप पुष्टि गर्नुपर्ने आवश्यकता औंल्याए।
प्रधानमन्त्री ओली गत असार १४ देखि २० गतेसम्म राष्ट्रसंघको एक कार्यक्रमका लागि स्पेन गएका थिए। सो भ्रमणमा सहभागी अन्य केही व्यक्ति फर्किएका छैनन् भन्ने समाचार सार्वजनिक भएपनि आधिकारिक रूपमा पुष्टि भने भइसकेको छैन।
यो विषय संसद्मा राजनीतिक बहसको केन्द्र बनेको छ, जहाँ एकातिर रास्वपाले पारदर्शिता र छानबिनको माग गरिरहेको छ भने अर्कोतर्फ एमालेले आधारविहीन आरोप नलगाउन चेतावनी दिइरहेको छ।

