प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको टेक्सासमा आएको विनाशकारी बाढीका कारण त्यहाँ बसोबास गर्ने नेपालीहरूलाई सतर्क रहन आग्रह गरेका छन्।
बीबीसीका अनुसार टेक्सासमा आएको आकस्मिक बाढीमा हालसम्म एक सयभन्दा बढी मानिसको मृत्यु पुष्टि भइसकेको छ। केर काउन्टीमा मात्रै कम्तीमा ८४ जनाको ज्यान गएको छ भने दर्जनौं मानिस अझै हराइरहेका छन् र खोजी कार्य जारी छ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा आफ्नो सन्देशमार्फत टेक्सासमा धेरै नेपाली रहेको उल्लेख गर्दै “बाढीबाट ज्यान गुमाउने सबैलाई श्रद्धाञ्जली अर्पण गर्दछु” भनेका छन्। साथै, त्यहाँ रहेका नेपालीहरूलाई सुरक्षा सतर्कता अपनाउन समेत आग्रह गरेका छन्।
केर काउन्टीस्थित ‘क्याम्प मिस्टिक’ नामक बालबालिकाको ग्रीष्मकालीन शिविरमा कम्तीमा २७ जना बालिका र कर्मचारीको मृत्यु पुष्टि भएको छ। अझै १० बालबालिका र एक काउन्सिलर बेपत्ता छन्।
त्यहाँ अहिले पनि वर्षा भइरहेको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रभावित क्षेत्रको भ्रमण गर्ने योजना बनाएका छन्।
यस विनाशकारी प्रकोपप्रति नेपाल सरकारले समेत आवश्यक सहयोगका लागि तत्परता जनाएको छ।
