×

‘काजी’ : अभिनय बलियो, वैचारिक धरातल नमिलेजस्तो

खालीपाना न्युजडेस्क | ४ दिन अगाडि

काठमाडौं । चलचित्र ‘काजी’ मा समयको परिवेश, सम्बन्धको संवेदना र सामाजिक मान्यताबीचको द्वन्द्वलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ । विपिन कार्की अभिनीत यो फिल्मले प्रेम, समर्पण र निःस्वार्थ सम्बन्धको कथा भन्न खोज्छ । तर कथाभित्र लुकेको वैचारिक पक्षले दर्शकलाई अनेक प्रश्न गर्न बाध्य बनाउँछ । के प्रेमको नाममा गरिने मौन त्याग वास्तवमै महानता हो वा त्यसले पुरानै असमान सोचलाई निरन्तरता दिइरहेको छ ?

निर्देशक लक्ष्मण रिजालले फिल्मलाई २०४८ साल आसपासको सामाजिक परिवेशमा राखेका छन् । रेडियोबाट बज्ने समाचार, लालटिनको उज्यालो र गाउँको जीवनशैलीले दर्शकलाई त्यो समयतिर फर्काइदिन्छ । राजनीतिक परिवर्तनको पूर्वसन्ध्यामा रहेको समाजको मानसिकता फिल्ममा सूक्ष्म रूपमा घुसेको छ ।

चलचित्रले (प्रजातन्त्र आउनु अघिदेखि सशस्त्र द्वन्द्व सुरु हुनु अगाडिको समय) लाई पर्दामा उतारेको छ । ‘काजी खानदान’ को विरासत बोकेका काजी (विपिन कार्की) र उनकी श्रीमती कजिनी (केकी अधिकारी) को वैवाहिक जीवनको वरिपरि कथा घुम्छ ।
फिल्मको कथा काजी (विपिन कार्की) र कजिनी (केकी अधिकारी) को विवाहबाट सुरु हुन्छ । विवाहपछिको सुरुवाती दिनमा काजीलाई ससुरालीमा गरिने अपमानले दर्शकको मन छुन्छ । पाखे ज्वाइँ भन्दै ससुराले गर्ने उपेक्षा, खसीको मासु खुवाउनका लागि सरकारी जागिरे रहेका ठूला ज्वाइँ नै आउनुपर्ने विभेदकारी सोचले हाम्रो समाजको तत्कालीन र अझै पनि विद्यमान रहेको ओहोदाप्रतिको मोहलाई चित्रण गरेको छ चलचित्रले ।

यद्यपि, काजी आफ्नो गाउँमा एउटा सम्मानित र निर्दोष पात्र हो । आफ्ना पिताले बसालेको बस्तीमा उसको बेग्लै सान छ । गाउँका एक युवा बिरामी आमालाई डोकोमा बोकेर सदरमुकाम लगिरहेका हुन्छन्, बाटोमा जब काजीले भेट्छ, खल्तीबाट पैसा निकाल्दै ती आमाका लागि उपचार खर्च थमाउँछ । काजीको यस्तै स्वभावले उसलाई एउटा आदर्श पुरुषको रूपमा स्थापित गर्छ । तर, यो दम्पत्तीको जीवनमा एउटा ठूलो रिक्तता छ सन्तानको अभाव । यही निःसन्तान हुनुको पीडा र त्यसले उब्जाएको असुरक्षाको भावना नै यो फिल्मको मुख्य द्वन्द्व हो ।

कजिनीको मनमा उब्जने शंका चलचित्रको अर्को मोड हो । सामान बेच्दै हिँड्ने नन्दुकी श्रीमतीले सुनाएको आफ्नै बहिनी सौता गएको कथाले कजिनीको मनमा भुइँचालो ल्याउँछ । आफ्नै श्रीमान् र बहिनी (गरिमा पन्त) प्रतिको सम्बन्धमा अनावश्यक शंकाले उनलाई गर्भवती भएको झुटो नाटक गर्न बाध्य तुल्याउँछ । एउटा सानो शंकाले कसरी मानिसलाई झुटको पहाड खडा गर्न बाध्य पार्छ भन्ने कुरालाई चलचित्रले सूक्ष्म ढंगले देखाएको छ ।

चलचित्रले कुनै ठूला र नाटकीय संवादहरू भन्दा पनि दैनिक जीवनमा आइपर्ने साना–साना व्यवहार, पारिवारिक संघर्ष, जिम्मेवारी र विवाहपछिको साँचो प्रेमलाई बडो सुन्दर ढंगले प्रस्तुत गरेको छ । गाउँले परिवेशमा सुरु भएको कथामा समयको परिवर्तनसँगै सम्बन्धमा आउने उतारचढाव र जटिलता नै यो चलचित्रको मूल हो ।

प्राविधिक हिसाबले फिल्म आकर्षक छ । क्यामेराको प्रयोग विशेष उल्लेखनीय लाग्छ । काजीको निराशा देखाउन ओरालो बाटोको प्रयोग र आशा पलाएको क्षणमा उकालो दृश्य प्रयोग गर्नु प्रतीकात्मक रूपमा प्रभावकारी छ । यसैगरी, सेतो कपडा लगाएका बच्चाहरू खेलिरहेको र एक्कासी गायब भएको सपनाको दृश्यले काजीको अपूरो पितृत्व चाहनालाई कलात्मक ढंगले अभिव्यक्त गरेको छ ।

संगीत र पाश्र्वध्वनिले पनि फिल्मलाई बलियो साथ दिएका छन् । विशेष गरी ‘वारी वर पारी पिपलु’ गीतले पात्रहरूको सम्बन्धलाई भावनात्मक गहिराइ दिन्छ । गाउँको शून्यता र पात्रहरूको मनोविज्ञानलाई ध्वनिले राम्रोसँग समेटेको छ ।

अभिनयतर्फ विपिन कार्की फिल्मको मुख्य शक्ति हुन् । श्रीमतीको खुसीमै आफ्नो संसार देख्ने, उसको कमजोरीलाई स्वीकार गर्ने पात्रलाई उनले निकै सहज रूपमा प्रस्तुत गरेका छन् । केकी अधिकारीले असुरक्षित र शंकालु श्रीमतीको भूमिका प्रभावकारी बनाएकी छन् । गरिमा पन्त, हेमन्त बुढाथोकी र प्रकाश घिमिरे लगायत कलाकारहरूको अभिनय पनि स्वाभाविक लाग्छ ।

यद्यपि, फिल्मको मुख्य कमजोरी यसको पटकथामा देखिन्छ । पहिलो भाग अत्यधिक सुस्त हुँदा कथा समात्न समय लाग्छ । साथै, फिल्मले अन्त्यतिर दिने सन्देशले बहस निम्त्याउन सक्छ । ‘स्वस्थानी व्रत’ र धार्मिक विश्वासलाई समाधानको माध्यम बनाइनुले फिल्मलाई केही हदसम्म रुढिवादी बनाएको अनुभूति हुन्छ । महिलाको अस्तित्वलाई मातृत्व र श्रीमानको स्वीकृतिसँग मात्र जोडेर हेर्नु आजको सचेत समाजसँग पूर्ण रूपमा मेल खाँदैन । फिल्ममा ‘स्वस्थानी व्रत’ र ‘भगवानको विश्वास’लाई जसरी समाधानको रूपमा प्रस्तुत गरिएको छ, त्यसले समाजलाई केही हदसम्म ‘पश्चगामी’ सन्देश दिने जोखिम राख्छ । एउटी महिलाको खुसी केवल एउटा ‘राम्रो श्रीमान्’ पाउनुमा मात्र सीमित छ र त्यो पनि व्रत बसेर प्राप्त हुन्छ भन्ने सोचले आजको आधुनिक र सचेत समाजको प्रतिनिधित्व गर्दैन ।

यसैगरी कजिनीको झुटलाई काजीले थाहा पाएर पनि स्वीकार गर्नु प्रेमको गहिराइ हो कि सम्बन्धभित्रको कमजोरी फिल्मले यही प्रश्न खुला छाड्छ । प्रेमको नाममा झुट र मौन सहमतिलाई महिमामण्डन गरिएको अनुभूति कतिपय दर्शकलाई असहज लाग्न सक्छ ।
समग्रमा, काजी अभिनय, दृश्य संयोजन र प्राविधिक पक्षका कारण हेर्नलायक फिल्म हो । तर यसको वैचारिक धरातल र कमजोर पटकथाले फिल्मलाई अझ उचाइमा पुग्न रोकेको महसुस हुन्छ । यसले प्रेम र समर्पणको कथा सुनाए पनि, त्यसभित्र लुकेको सामाजिक दृष्टिकोणमाथि प्रश्न उठाउने पर्याप्त ठाउँ छोडेको छ ।

जीवन्त अभिनय गर्ने विपिन कार्कीले सधैँझैँ आफ्नो चरित्रमा न्याय गरेका छन् । एउटा श्रीमानले श्रीमतीको खुसीका लागि गर्ने साना सम्झौता र उनको सूक्ष्म भावनालाई उनले दुरुस्तै उतारेका छन् । कजिनीको भूमिकामा केकी अधिकारीको अभिनय र भावुक दृश्यहरू निकै परिपक्व र तारिफयोग्य छन् ।

‘काजी’ एउटा यस्तो फिल्म हो जुन हेरिरहँदा केहीबेर आँखालाई आनन्द दिन सक्छ, विपिनको अभिनयले मन लोभ्याउन सक्छ ।
तर चलचित्रको पहिलो हाफमा कथा स्थापना गर्ने क्रममा केही दृश्यहरू निकै सुस्त लाग्छन्, जसले गर्दा आधुनिक व्यावसायिक (कमर्सियल) फिल्म रुचाउने दर्शकलाई केही खिन्न बनाउन सक्छ । यदि तपाईं फिल्ममा ठूला एक्सन, थ्रिलर वा सस्तो कमेडी खोज्दै हुनुहुन्छ भने यो फिल्मले निराश बनाउन सक्छ । यो पूर्ण रूपमा भावना र सादगीमा टिकेको फिल्म हो ।

‘काजी’ नेपाली सिनेमा जगतमा एउटा न्यानो, क्लासिक र घरेलु स्वाद बोकेको उत्कृष्ट चलचित्र हो । धेरै तामझाम र कृत्रिम संवाद बिना नै प्रेम र सम्बन्धको गहिराइ कसरी पस्कन सकिन्छ भन्ने उदाहरण यो फिल्मले दिएको छ । विशेषगरी परिवारसँग बसेर एउटा अर्थपूर्ण र मौलिक नेपाली कथा हेर्न चाहनेहरूका लागि यो फिल्म दमदार लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.