काठमाडौँ — नेपाली चलचित्र क्षेत्रमा प्रतिक्षा गरिएको फिल्म ‘प्रतिवैरम्’ को आधिकारिक टिजर हिजो सार्वजनिक गरिएको छ। निर्माण पक्षले ‘युना डिजिटल’ मार्फत दिउँसो १:३० बजे टिजर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेको हो। सार्वजनिक टिजरमा मुख्य कलाकारको आक्रामक लुक्स र एक्सनलाई प्राथमिकता दिइएको छ, जसले दर्शकमा कौतुहलता जगाएको छ।

रोशन दासको निर्देशनमा तयार भएको यो फिल्म नेपालीका साथै हिन्दी, मैथिली र भोजपुरी भाषामा समेत प्रदर्शन हुनेछ। फिल्ममा सम्राट दास, बिरेन्द्र सिंह कुशवाहा, सुप्रज्ञा शर्मा र एलिशा बास्तोला लगायतका कलाकारहरूको अभिनय रहेको छ। पोस्टरमा देखिएको कलाकारको रगतले लतपतिएको लुक्सले यो एक ‘रिभेन्ज थ्रिलर’ कथा भएको संकेत गर्दछ।
रेज इन्टरटेनमेन्टको प्रस्तुति रहेको यस फिल्मलाई आगामी २०८३ जेठ (मे २०२६) मा अल नेपाल रिलिज गर्ने तयारी गरिएको छ। नवीन गुरुङको छायांकन र कविर ओडीको सम्पादन रहेको यो फिल्मले प्राविधिक रुपमा पनि उत्कृष्ट हुने दाबी गरेको छ। टिजर सार्वजनिक भएसँगै फिल्मको चर्चा सामाजिक सञ्जालमा सुरु भएको छ।