कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सिंहदरबारमा निर्माणाधीन संघीय संसद भवनको काममा विगतका कमजोरी दोहोरिन नदिन Ministry कडाइका साथ काम अघि बढाइरहेको बताएका छन्।
संघीय संसदको नीति, निर्देशन र दायित्व कार्यान्वयन अनुगमन समितिको शुक्रबारको बैठकमा उनले हालको कार्यतालिका अनुसार काम भइरहेको र समयमै काम सम्पन्न गराउन मन्त्रालय तथा सम्बन्धित विभागले सधैं अनुगमन गरिरहेको जानकारी दिएका थिए।
निर्माणमा ढिलाइ गर्ने व्यवसायीहरूमाथि मन्त्रालयले कडाभन्दा कडा कदम चाल्ने उनको भनाइ थियो। उनले कीर्तिपुर क्रिकेट स्टेडियमको निर्माणमा जरिवाना लगाएर पनि कडा नियन्त्रण गरिरहेको उदाहरण दिएका छन्।
‘संसद भवनको काम तोकिएको समयमा सम्पन्न नहुने विषय सबैलाई थाहा छ, त्यसैले हामी विगतका त्रुटि र कमजोरीलाई दोहोरिन नदिने प्रतिबद्धतामा छौं’, मन्त्री सिंहले भने।
मन्त्रालयले सम्बन्धित इन्जिनियर, महानिर्देशक र आयोजना प्रमुखलाई समेत काम समयमै सक्न निर्देशन दिइसकेको छ।
मन्त्रालयका सचिव गोपाल सिग्देलले पुसको दोस्रो साता भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित कार्यतालिका बनाएर काम अघि बढाइएको र आउने अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन्। उनले तालिकाअनुसार काम सफलतापूर्वक अघि बढ्नेमा विश्वास व्यक्त गरे।

