रामेछाप र सिन्धुलीलाई जोड्ने खुर्कोटस्थित सुनकोसी नदीमाथिको बेलीब्रिजको मर्मत कार्य नेपाली सेनाले सुरु गरेको छ। गत कात्तिकमा जडान गरिएको यो पुलमा प्रयोग भएका केही नटबोल्ट खुस्किएर जोखिम बढेपछि सेनाको प्राविधिक टोली परिचालन गरिएको हो।
महोत्तरीको बर्दिवासस्थित सेनाको प्राविधिक टोलीले बिहीबारदेखि मर्मत कार्य अघि बढाएको हो। गत असोज १२ गते आएको बाढीले पुलको रामेछापतर्फको करिब ५० मिटर भाग बगाएपछि सडक विभाग, नेपाल विद्युत प्राधिकरण र सेनाको सहकार्यमा यो बेलीब्रिज स्थापना गरिएको थियो।
समयसँगै यातायातको चाप बढ्दा पुल हल्लिन र लचक देखिन थालेको, नटबोल्ट खुस्किएर पाताहरू खुकुलो भएको हुँदा मर्मतको आवश्यकता देखिएको हो। अधिकतम १५ टन भारका सवारी मात्र पार गर्न मिल्ने भनिए पनि बढी तौलका साधन समेत सञ्चालन भइरहेका कारण जोखिम थपिएको जनाइएको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार दुई दिनभित्र मर्मत कार्य सम्पन्न गरिनेछ।
