काठमाडौँ — बबरमहलस्थित सिंहदरबारको दक्षिण गेट नजिक नेपाल आयल निगमको नयाँ तथा आधुनिक कर्पोरेट भवन निर्माण सम्पन्न भएको छ। २०७२ सालको भूकम्पमा पुरानो कार्यालय भवन चर्किएपछि त्यसलाई भत्काएर सोही स्थानमा नयाँ संरचना बनाइएको हो।
निगमका उपनिर्देशक तथा भवन निर्माण परियोजना प्रमुख रामकृष्ण बञ्जाराका अनुसार २०७८ मंसिर १९ गतेदेखि निर्माण सुरु भएको यो भवन ३० महिनाभित्र पूरा गर्ने योजना थियो। आवश्यक समय थपेर सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको उनले जानकारी दिए।
भवनमा निगमका विभिन्न विभागहरू स्थानान्तरण भइसकेका छन्। निर्माण कार्य केसी समानान्तर रेलिगेयर जेभीले गरेको हो, जसको लिड पार्टनर समानान्तर निर्माण सेवा रहेको छ।
भ्याट र पीएसबाहेक भवन निर्माणमा करिब ८१ करोड रुपैयाँ खर्च भएको निगमले जनाएको छ। नयाँ भवन अत्याधुनिक सुविधासहितको कर्पोरेट कार्य सञ्चालनका लागि तयार भएको छ।
