नेकपा (एमाले) ले पार्टी र अध्यक्ष तथा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीविरुद्ध चारवटा शक्तिहरूको साझा षड्यन्त्रपूर्ण हमला भइरहेको दाबी गरेको छ। पार्टीको आन्तरिक निर्देशनपत्र (अपानि) मार्फत् उसले यस्ता शक्तिहरूको पहिचान र आलोचना सार्वजनिक गरेको हो।
एमालेका अनुसार पछिल्लो समय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गोयबल्स शैलीमा आफ्ना विरुद्ध दुष्प्रचार तीव्र बनाइएको छ। त्यसको मूल उद्देश्य पार्टीलाई कमजोर पार्नु र जनतामाझ बदनाम गर्नु रहेको उसको ठम्याइ छ।
पहिलो शक्ति—देशभक्त अडान र राष्ट्रिय स्वार्थको पक्षमा उभिने एमालेको भूमिकासँग असहज महसुस गर्ने, प्रभुत्ववादी सोच राख्ने शक्ति भएको पार्टीको भनाइ छ। यस्ता शक्ति नेपालको स्वाधीन राजनीतिक लाइनलाई कमजोर बनाउन सक्रिय रहेको आरोप एमालेले लगाएको छ।
दोस्रो शक्ति—राजसंस्थाको पुनर्स्थापनाको सपना देख्ने र परिवर्तनविरोधी सोच राख्ने समूहलाई एमालेलाई खतरा मानिएको छ। दुर्गा प्रसाईंको समूहसमेत यथास्थितिवादी र प्रतिगामी सोच भएका शक्ति भनेर एमालेले औंल्याएको छ।
तेस्रो शक्ति—नेकपा (माओवादी केन्द्र) लाई एमालेलाई टक्कर दिन खोज्ने शक्ति मानिएको छ। माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको दलले ‘जादुयी नम्बर’ भन्दै सत्ताको चाबी आफूसँग भएको दाबी गरे पनि त्यो एमालेकै कारण निष्क्रिय बनेको पार्टीको ठहर छ। एमालेका अनुसार, आफ्नो प्रभाव घटेको भन्दै माओवादी केन्द्र अराजनीतिक र छद्म शैलीमा आक्रमण गर्दै आएको छ।
चौथो शक्ति—नयाँ वैकल्पिक शक्ति भनेर चिनिने राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौंका मेयर बालेन शाह, धरानका हर्क साम्पाङ लगायतका स्वतन्त्र नेताहरूलाई एमालेले अराजकतावादी र नीतिविहीन लोकप्रियतावादी प्रवृत्तिका प्रतिनिधि भनेको छ। उनीहरूले एमालेको विरोधलाई आफ्नो एजेन्डा बनाएको आरोप पनि पार्टीले लगाएको छ।
एमालेले पार्टीपंक्तिलाई यस्ता शक्तिको प्रचार र हमलाविरुद्ध एकजुट भई प्रतिवाद गर्न निर्देशन दिएको छ। यसरी सशक्त प्रतिरोधमार्फत् पार्टीले “मिसन ८४” सफल बनाउने वातावरण तयार गर्ने योजना अघि सारेको छ।
