बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्याम बहादुर खड्काले मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार मुख्यमन्त्री बहादुर सिंह लामासमक्ष राजीनामा बुझाएका हुन्।
यसैबीच नेपाली कांग्रेस संसदीय दलको नेताविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मत विभाजनको तयारी भइरहेका बेला खड्काले आफ्नो पदबाट राजीनामा दिएका हुन्। अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेका खड्काले अब आफू सांसद इन्द्रबहादुर बानियाँको पक्षमा रहेको स्पष्ट पारेका छन्। स्मरण रहोस्, २०७९ पुस १३ मा भएको संसदीय दलको नेताको निर्वाचनमा खड्काले लामालाई समर्थन गरेका थिए।
यससँगै बागमती प्रदेशमा राजीनामा दिने कांग्रेसका मन्त्रीहरूको संख्या पाँच पुगेको छ। यसअघि सहकारी मन्त्री मदुकुमार श्रेष्ठ, पर्यटन मन्त्री विमल ठकुरी, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले पनि पद त्याग गरिसकेका छन्।
यी सबै मन्त्रीहरूले सांसद बानियाँलाई समर्थन गर्दै लामालाई हटाएर बानियाँलाई कांग्रेस संसदीय दलको नेता बनाउने तयारी गरिरहेका छन्। हाल बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ जना सांसद छन्।
