नेपाल र चीनबीचको मोरिम्ला सीमा नाका यही साउन २५ गतेदेखि भदौ १३ गतेसम्म व्यापारका लागि खोलिने भएको छ।
उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङका अनुसार, चीनको सिगात्से काउन्टीअन्तर्गत डोङ्बा प्रान्तका अधिकारीहरूसँगको समन्वयपछि उक्त मिति तय गरिएको हो।
प्रत्येक वर्ष एकपटक खोलिँदै आएको यस नाकाबाट उपल्लो डोल्पाका तीनवटै स्थानीय तहका बासिन्दाले व्यापारिक सामग्री चीनबाट ल्याउने गर्छन्। यस वर्ष दुई हजार दुई सय जनाले नाका पार गर्नका लागि ‘पास’ लिएका छन् भन्ने जानकारी सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीले दिएका छन्।
नाका सञ्चालन अवधिभरको सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सीमा क्षेत्रमा खटाइने तयारी गरिएको छ।
पछिल्ला वर्षहरूमा सीमित अवधिका लागि सञ्चालन हुँदै आएको यो नाका अघिल्लो वर्ष १५ दिन खुला गरिएको थियो। मोरिम्ला नाकाबाट डोल्पावासीहरूले दैनिक उपभोग्य वस्तु, कपडा र मेसिनरी सामग्रीजस्ता सामग्रीहरू चीनबाट सस्तोमा खरिद गर्दै आएका छन्।
डोल्पाको भौगोलिक कठिनाइका कारण नेपाली बजारबाट सामग्री ल्याउँदा ढुवानी खर्च धेरै पर्ने भएकाले एक वर्ष पुग्ने गरी चीनबाट आवश्यक सामग्री ल्याउने परम्परा निरन्तर चल्दै आएको छ।
