८ साउन, बुटवल — लुम्बिनी प्रदेश सरकारले आफ्नो एक वर्षे कार्यकालमा हासिल गरेका ७६ उपलब्धिहरू सार्वजनिक गरेको छ। देउखुरीस्थित राप्ती उपत्यकामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक, प्रशासनिक, विकास, पूर्वाधार र सुशासनसम्बन्धी प्रमुख कार्यहरू प्रस्तुत गर्दै सरकारको प्रगतिबारे जानकारी गराए।
मुख्यमन्त्री आचार्यले राजस्व संकलनमा सुधार, पुँजीगत खर्चको वृद्धिसहित सुशासनलाई प्राथमिकतामा राखेर सरकार अघि बढेको उल्लेख गरे। पाँच वर्षे रणनीतिक योजना तयार गरिएको उनले बताए, जसअनुसार बजेट खर्च र कार्यसम्पादनमा उल्लेखनीय सुधार आएको छ।
मुख्यमन्त्री ड्यासबोर्डदेखि किसान एपसम्म
सरकारको कार्यसम्पादन मूल्याङ्कन गर्न ‘मुख्यमन्त्री ड्यासबोर्ड’ सञ्चालनमा ल्याइएको छ। यसैगरी, कृषकहरूलाई प्रविधिमैत्री बनाउने उद्देश्यले ‘किसान एप’ पनि सुरु गरिएको हो। दुबै प्रणालीको विमोचन मुख्यमन्त्री आचार्य तथा मन्त्रीहरू प्रचण्ड विक्रम न्यौपाने र दिनेश पन्थीले संयुक्त रूपमा गरेका थिए।
राजस्व र खर्चमा सन्तुलन
गत आर्थिक वर्षको तुलनामा यो वर्ष प्रदेशको आन्तरिक राजस्व साढे एक अर्बले वृद्धि भई ५ अर्ब ६४ करोड पुगेको छ। प्रदेशको कुल खर्च ६६.१४% बाट बढेर ७२.०९% पुगेको छ भने अनावश्यक खर्च कटौती गर्दै विकासमुखी लगानीमा जोड दिइएको छ।
कानुन निर्माण र कर्मचारी व्यवस्थापन
प्रदेश निजामती सेवा ऐन, स्थानीय निजामती सेवा ऐनसहित ७ नयाँ ऐन, ४ नियमावली, र अन्य नीतिगत दस्तावेज निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ। कर्मचारी व्यवस्थापन, मन्त्रालय तथा कार्यालयहरूको मूल्याङ्कन प्रणाली पनि मजबुत बनाइएको छ।
अस्पताल, शिक्षा र पूर्वाधारमा उल्लेखनीय प्रगति
लुम्बिनी प्रादेशिक अस्पताललाई १२०० शैयाको देशकै नमुना अस्पताल बनाउने योजना अघि बढाइएको छ, जसमा हालसम्म २७% भौतिक प्रगति भइसकेको जनाइएको छ। बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना गरिएको छ।
देउखुरी राजधानीको समग्र विकास
राजधानी देउखुरीमा प्रशासकीय भवनहरू निर्माणमा ८०% प्रगति भइसकेको छ। १५० विघा क्षेत्रफलमा ल्याण्डपुलिङ योजना सुरु हुने तयारीमा छ भने मलमला क्षेत्रमा बहुवर्षीय योजनाअन्तर्गत आयोजना स्वीकृत गर्ने प्रक्रिया अघि बढाइएको छ।
सडक र पुल निर्माण
प्रदेश सरकारको सडक गुरुयोजना अन्तर्गत १५ लोकमार्ग र ५८२ प्रादेशिक सडक निर्माण लक्ष्यका साथ, एक वर्षमा १६५ किलोमिटर कालोपत्रे, ३४ किलोमिटर ढलान, १६७ किलोमिटर ग्राभेल र १२३ किलोमिटर कच्ची सडक निर्माण भइसकेको छ। साथै, ३५ मोटरेबल पुल र १७ झोलुङ्गे पुलहरू निर्माण भइसकेका छन्, जसबाट करिब ३० लाख नागरिक लाभान्वित भएका छन्।
खानेपानी सेवा विस्तार
प्रदेशमा एक वर्षको अवधिमा १३६ खानेपानी आयोजना सम्पन्न भएका छन्, जसबाट करिब १८ हजार ८७० घरधुरी लाभान्वित भएका छन्। प्रदेश स्थापनादेखि हालसम्म ६६६ आयोजना सम्पन्न भई १ लाख ८२ हजारभन्दा बढी घरधुरीमा स्वच्छ पानी पुर्याइएको छ।
मुख्यमन्त्री आचार्यले संघीयताको संस्थागत अभ्यासमा लुम्बिनी प्रदेशले अग्रणी भूमिका निर्वाह गरिरहेको र प्रदेशलाई जनतामैत्री तथा उत्तरदायी बनाउने प्रयासमा सरकार निरन्तर लागिपरेको स्पष्ट पारे।
