रूसमा सम्पर्कविहीन बनेको एन्टोनोभ एन-२४ विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। बुधबार खाबरोव्स्कबाट ब्लागोवेश्चेन्स्क हुँदै टिन्डा गइरहेको विमान टिन्डाबाट केही माइल टाढा पुगेपछि सम्पर्कविहीन भएको थियो।
रूसी समाचार संस्था तासका अनुसार, विमान टिन्डाको विमानस्थलबाट केही माइल दूरीमा रहेको एक भिरालो जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। विमान सम्पर्कविहीन भएपछि खोजीकार्यका लागि हेलिकप्टर परिचालन गरिएको थियो। उद्धारकर्ताहरूले आकाशबाटै जंगलमा धुवाँ देखेपछि भग्नावशेष फेला पारेका थिए।
दुर्घटनापछि आगलागीसमेत भएको पुष्टि गरिएको छ, जसले गर्दा जीवित उद्धारको सम्भावना अत्यन्त न्यून रहेको उद्धार टोलीको भनाइ छ। तासका अनुसार, अहिले त्यहाँ केवल भग्नावशेष मात्र बाँकी रहेका छन्।
उक्त विमानमा चालक दलका ६ सदस्यसहित ४३ जना यात्रु रहेका थिए, जसमा ५ जना बालबालकासमेत थिए। हालसम्म दुर्घटनाको आधिकारिक पुष्टि नभए पनि स्थानिय अधिकारीहरूले घटनास्थल पहिचान भइसकेको जनाएका छन्। साथै, घटनास्थलका केही तस्बिर र भिडियोहरू सार्वजनिक भइसकेका छन्।
