कम्पनी रजिस्टारको कार्यालयमा घुस प्रकरणपछि प्रमुख रजिस्टार ईश्वरकुमार गिरीलाई हटाएर देवीप्रसाद सुवेदीलाई निमित्त रजिस्टारको जिम्मेवारी दिइएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गिरीलाई मन्त्रालयमा बोलाएर सुवेदीलाई कार्यभार सुम्पिएको हो।
रजिस्टार गिरीसहित उप–रजिस्टार सोमराज बराल र सहायक रजिस्टार रविन कार्की तथा भीमप्रसाद पराजुलीलाई मन्त्रालयले गठन गरेको छानबिन समितिले बुधबार स्पष्टीकरण माग गरेको थियो। उनीहरूविरुद्ध अनलाइन प्रणालीमार्फत चलखेल गर्दै खुलेआम घुस लिएको गम्भीर आरोप छ।
निजामती सेवा ऐनको दफा ६६ अनुसार विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाउन स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ। यसअघि घुस प्रकरण सार्वजनिक भएपछि कम्पनी रजिस्टार कार्यालयका ३१ जना कर्मचारीको सरुवा गरिएको थियो।
उद्योग मन्त्रालयका सहसचिव छविन्द्र पराजुलीका अनुसार, अब उक्त कार्यालयमा नयाँ कर्मचारी खटाएर कार्य प्रणालीलाई सुचारु बनाइनेछ। “वाणिज्य विभागलगायत अन्य निकायबाट आवश्यक जनशक्ति सरुवा गरेर पठाउने तयारीमा छौं,” उनले बताए, “हालै सरुवा गरिएका करिब ३१ कर्मचारीमार्फत कार्यालयलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने काम भइरहेको छ।”
नयाँ नेतृत्वमा अब कम्पनी रजिस्टार कार्यालय सुधार र पारदर्शितातर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।
